हेमा भट्ट जेठ २६ धनगढी
कञ्चनपुर –कृष्णपुर नगरपालिकाको आयोजनामा सम्पन्न भएको प्रथम उपमेयर महिला भलिबल प्रतियोगिता–२०८२ को उपाधि वडा नं. ८ ले जितेको छ। फाइनल खेलमा वडा नं. १ लाई हराउँदै वडा नं. ८ विजेता बन्न सफल भयो भने वडा नं. १ उपविजेता रह्यो।
समापन समारोह भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता कृष्णपुर नगरपालिकाका उपप्रमुख द्वारापदी रानाले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा प्रदेश सभा सदस्य माननीय गीता चौधरी, विशिष्ट अतिथि नगरप्रमुख हेमराज ओझा, अतिथि समन्वय समिति कञ्चनपुर सदस्य जयसिंह बिष्ट, तथा वडा नं. ९ का अध्यक्ष कैलाश बलायर सहभागी थिए। कार्यक्रम सञ्चालन नविना खड्काले गर्नुभएको थियो।
समारोहमा प्रमुख अतिथि माननीय गीता चौधरीले विजेता टिमलाई ट्रफी, प्रमाणपत्र, र पुरस्कार प्रदान गर्नुभएको थियो। सम्मान वितरण गर्दै उनले भनिन्:
“महिलाहरू हरेक खेलकुदमा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरिरहेकामा म गर्व गर्छु। महिला भलिबल खेलाडीहरूले दिएको सानदार प्रस्तुति प्रशंसनीय छ। सबै महिला खेलाडीहरू सम्मानका हकदार हुन्।”
कार्यक्रममा वक्ताहरूले खेलकुद महिला सशक्तीकरणको महत्वपूर्ण माध्यम भएको बताएका थिए। आयोजकले प्रतियोगिताको सफल आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ विस्तृत र प्रभावशाली कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनायो।