जेठ २७ धनगढी
कञ्चनपुरको भारत सिमावर्ती क्षेत्र बेलौरीमा कार्यरत एक प्रहरी अधिकृतमाथि सार्वजनिक स्थानमै कुटपिट भएको छ। बेलौरी इलाका प्रहरी कार्यालय अन्तर्गतको पचुई प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) धीर बहादुर चन्दमाथि २१ जेठमा आक्रमण भएको हो।
घटना भएदेखि सात दिनपछि मात्र कुटपिटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषयले तातो रूप लिएको छ। भिडियोमा स्थानीय व्यापारी र युवा समूहले प्रहरीलाई घेराउ गर्दै दुव्र्यवहार र आक्रमण गरिरहेको देखिन्छ।
२१ जेठको बिहान करिब ८–९ बजेतिर असई चन्द पचुई चौकीबाट कलकत्ता बजार पुगेका थिए। त्यहाँ एक युवक, कलाराम चौधरीले ल्याएको एक बोरा मल नियन्त्रणमा लिई चौकी फर्कंदै गर्दा विवाद उत्पन्न भएको हो। प्रहरीले उक्त मल गैरकानुनी रूपमा भारतबाट ल्याएको भन्दै जफत गरेपछि व्यापारी राहुल रानासहितको समूहले अवरोध गर्दै प्रहरीलाई कुटपिट गरेका थिए।
स्थानीय व्यापारीहरुले प्रहरीमाथि व्यवसायीलाई लक्षित गरेर नगद र भौतिक सामग्री माग्ने, र बरामद गर्ने गरेको आरोप पनि लगाएका छन्।
प्रहरी इन्चार्ज धीर बहादुर चन्दले आफूले एक महिनाअघि मात्रै चौकीको जिम्मेवारी लिएको जानकारी दिए। “म त्यो दिन पनि बजारमा नियमित निगरानीमा गएको थिएँ, त्यहाँ पाएको मलको बोरा जफत गरेर चौकी ल्याउने क्रममा पुरानै विवादबाट आक्रमणमा परें,” उनले बताए।
उनले व्यापारी राहुल रानाले केही दिनअघि बरामद गरिएको समानको रिस साँधेर आक्रमणमा उत्रिएको आरोप लगाए। घटनापछि चौकीमा दुवै पक्षबीच छलफल भई मिलापत्रसमेत गरिएको थियो।
घटनापछि बेलौरी क्षेत्रमा प्रहरी र व्यापारीबीचको सम्बन्ध चिसिएको छ। स्थानीय व्यवसायीले प्रहरीले ‘मासिक लेनदेन’ नदिने व्यापारीलाई लक्षित गर्दै समान नियन्त्रणमा लिने गरेको आरोप लगाएका छन्।
उता असई चन्दले आफूमाथि लगाइएको सबै आरोप आधारहीन भएको दाबी गर्दै, “यदि मैले कसैबाट पनि पैसा वा पेट्रोल मागेको प्रमाण छ भने, म कारबाही भोग्न तयार छु,” भनी स्पष्ट पारे।
घटनाको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाप्रति चासो देखाएको छ। प्रहरी प्रवक्ता सागर बोहराले “घटनाबारे गम्भीर छलफल हुँदैछ, आवश्यक निर्णय चाँडै लिइनेछ,” बताएका छन्।
राष्ट्रसेवक प्रहरीमाथिको कुटपिट र सार्वजनिक अपमानप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। राज्यको कानुनी निकायमाथि भएको यस्ता आक्रमणले बेलौरी क्षेत्रको तस्करी नियन्त्रण र शान्तिसुरक्षामा गम्भीर प्रश्न उठाएको छ।