जेठ २७ धनगढी
कञ्चनपुर — बेलौरी नगरपालिका–१ र २ मा पर्ने ऐतिहासिक तथा प्राकृतिक बन्दाताललाई आधुनिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न ५ करोड ४३ लाख ११ हजार २२२ रुपैयाँको लागतमा सुरु भएको परियोजनाको आज औपचारिक रुपमा सिलान्यास गरिएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि दाउत निर्माण सेवा (DNS) र भुमिराज कन्सट्रक्सन (BRC) सँग संयुक्त सम्झौता गरी परियोजनाको कार्यान्वयन अघि बढाएको हो।
पूर्व म्यादमै सम्पन्न गर्ने दाबी
परियोजना दुई वर्षभित्र, २०८३ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ। तर निर्माण व्यवसायी दाउत तामाङले तय समयभन्दा अगावै काम सकिने विश्वास व्यक्त गरेका छन्।
हाल आरसीसी संरचना, पर्खाल तथा माटो भरानको काम तीव्र गतिमा अगाडि बढिरहेको नगर इन्जिनियर जगदिश जोशीले जानकारी दिए। उनका अनुसार योजना २०७९/८० मै प्रस्ताव गरिएको थियो। विस्तृत परियोजना प्रतिवेदन (DPR) अनुसार कुल लागत अनुमानित २७ करोड रुपैयाँ रहेको छ, जसका लागि संघ र प्रदेश सरकारबाट थप बजेट जुटाउने योजना बनाइएको छ।
‘बन्दाताल नगरको गौरव हो’ – नगरप्रमुख चौधरी
नगरप्रमुख पोतिलाल चौधरीले बन्दाताललाई “नगरको गौरव” को रूपमा व्याख्या गर्दै यसले सीमावर्ती क्षेत्रका पर्यटकलाई आकर्षित गर्ने र स्थानीयको आम्दानी तथा रोजगारीमा प्रत्यक्ष टेवा पुर्याउने आशा व्यक्त गरे।
उनले भने, “यो प्राकृतिक धरोहर हो। बन्दातालको विकासले बेलौरीको आर्थिक समृद्धिमा योगदान पुर्याउनेछ। त्यसका लागि संघ र प्रदेश सरकारसँग बजेटका लागि पहल गरिरहेका छौँ।”
उपस्थिति र अपेक्षा
सिलान्यास समारोहमा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, प्राविधिक टोलीका सदस्यहरू र स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो। परियोजनाले सफलतापूर्वक आकार लिएपछि बेलौरी तथा सीमावर्ती क्षेत्रको पर्यटन र व्यापारमा नयाँ अवसरहरू खुल्ने अपेक्षा गरिएको छ।