नगर प्रमुख शर्माद्वारा टाउन बजारमा सञ्चालित कृषि हाटबजारको अवलोकन

जेठ २८ धनगढी
धनबहादुर बिक
कञ्चनपुर -पुनर्वास नगरपालिका–६ स्थित टाउन बजारमा सञ्चालित कृषि हाटबजारको आज नगर प्रमुख तोय प्रसाद शर्माले अवलोकन गर्नुभएको छ। प्रत्येक साताको बुधबार लाग्ने यो हाटबजारले स्थानीय उत्पादनको प्रबर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

नगर प्रमुख शर्मासँगै पूर्व नगर प्रमुख जीवनराज थापा, पुनर्वास उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार रायमाझी, रेडक्रस उपशाखा अध्यक्ष कृष्णबहादुर तामाङ, समाजसेवी यमप्रसाद शर्मा र सुकबहादुर तामाङ समेतले हाटबजारको निरीक्षण गरेका थिए।

गत बैशाख ३ गतेदेखि सञ्चालनमा आएको हाटबजारले छोटो समयमै प्रगतिशील गति लिन थालेको भन्दै सरोकारवालाहरूको ध्यान तान्न सफल भएको हाटबजार सञ्चालन समिति अध्यक्ष सोमराज बरालले जानकारी दिनुभयो। उहाँले बजारलाई अझ व्यवस्थित बनाउन स्थानीय सरकारसँग निरन्तर समन्वय भइरहेको पनि उल्लेख गर्नुभयो।

प्रतिभानगर कृषि हाटबजारको संचालनमा पुनर्वास उद्योग वाणिज्य संघ, पुनर्वास नगरपालिका वडा नं. ६ कार्यालय, र प्रतिभानगर बजार व्यवस्थापन समितिको विशेष पहल रहेको छ।

नगर प्रमुख शर्माले हाटबजारलाई अझ आकर्षक र नियमित रूपमा संचालन गर्न आगामी आर्थिक वर्षको योजनामा समेटिने जानकारी दिनुभयो। उहाँले हाटबजारलाई आईबीआरडीस्थित शनिबारे हाटबजारको नमुनामा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

हालैको आर्थिक मन्दी र बजारमा देखिएको सुस्त गतिका कारण प्रतिभानगर बजार सुनसानजस्तै बनेको अवस्थालाई तोड्न नयाँ वर्ष २०८२ को प्रारम्भसँगै हाटबजार सुरु गरिएको उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार रायमाझीले बताउनुभयो।

हाटबजारलाई अझ आकर्षक, सुसंस्कृत र व्यवस्थित बनाउँदै लैजानका लागि सञ्चालन समितिले विभिन्न संघ–संस्था, व्यक्ति तथा सरोकारवालासँग सहकार्य गर्दै रचनात्मक कार्यक्रमहरू ल्याउने निर्णय समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply