जेठ २९ धनगढी
भारतबाट फर्कने व्यक्तिहरूमा कोरोनाको सङ्क्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका सीमानाकामा रहेका ‘हेल्थ डेस्क’मा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ । भारतसँग सीमा जोडिएका प्रदेशका चारवटा क्षेत्रमा हेल्थ डेस्कमार्फत शङ्कास्पद बिरामीको ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गरिएको सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले जानकारी दिए ।
उनका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरूले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गरिरहेका छन् । कोरोना परीक्षणका लागि प्रयोग हुने किट चारवटै हेल्थ डेस्कमा पु¥याई परीक्षण काम भइरहेको उनले जानकारी दिए ।
अहिले झुलाघाटलाई ५५, पुलघाटलाई २५, गड्डाचौकीलाई १०० र गौरीफण्टा हेल्थ डेस्कलाई १५० किट उपलब्ध गराइएको छ । सीमानाकामा भारतबाट खेतीपातीका लागि फर्कनेहरूको सङ्ख्या बढ्दै गएकाले थप किट आपूर्ति गरिदिनका लागि सम्बन्धित विभागमा पत्राचार गरिएको सूचना अधिकारीले जानकारी दिए । उच्च शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको उनले बताए ।
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सीमानाकामा रहेका हेल्थ डेस्कलाई सक्रिय पारिएको हो । यही जेठ २१ गते गौरिफण्टा सीमानाकाबाट भित्रिने यात्रु कोरोना परीक्षणको कार्य शुरु गरिएको थियो भने जेठ २७ गतेदेखि थप तीनवटा सीमानाकामा जाँचको व्यवस्था गरिएको छ । पछिल्लो एक हप्तामा सीमानाका भएर फर्कने १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।