असार २ धनगढी- आजदेखि झापा जिल्लाको कन्काई नगरपालिका–१, दुर्गापुरस्थित एक गुरुकुलमा वैदिक पद्धतिबाट नित्यकर्म, वेद–पुराण, धर्मशास्त्र, निर्णय सिन्धु, धर्मसिन्धु, ज्योतिष तथा सम्पूर्ण कर्मकाण्डसम्बन्धी चार घण्टे कक्षा सुरु गरिएको छ।
प्रत्येक बिहान ५:३० बजेदेखि १०:३० बजेसम्म संचालन हुने यो कार्यक्रम संस्कारशिरोमणि ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्तको नेतृत्वमा शुरु भएको हो। पण्डित पन्त नेपालका विभिन्न दुर्गम क्षेत्रसम्म पुगेर समावेशी दृष्टिकोणका साथ दलित तथा अन्य समुदायहरूलाई निःशुल्क रुपमा वैदिक ज्ञान प्रदान गर्दै आएका छन्।
कार्यक्रममा २५ जना सहभागिता जनाएका छन्, जसमा कथा वाचक, कर्मकाण्ड विशेषज्ञ, ज्योतिषी लगायत विविध क्षेत्रका व्यक्तिहरू समावेश छन्।
ज्योतिषाचार्य किरण लाम्गादे (शास्त्री) तथा श्रीमद्भागवत कथा वाचक अध्यक्ष श्री विश्वकर्मा वैदिक कर्मकाण्ड संघद्वारा संचालित यस कार्यक्रममार्फत समाजमा विद्यमान जातीय भेदभाव, छुवाछूत लगायतका विकृतिहरू विरुद्ध सन्देश प्रवाह गरिएको छ।
पण्डित लाम्गादेले भने, “हामी सबैभन्दा पहिला आफैंबाट, अनि घर, समाज, वडा, नगरपालिका हुँदै राष्ट्र स्तरसम्म परिवर्तन ल्याउनुपर्ने बेला आएको छ।”
उनले आगामी दिनमा सुदूरपश्चिमका विभिन्न ठाउँहरूमा भागवत महायज्ञ आयोजना गर्ने तयारी भइरहेको पनि जानकारी दिए। साथै उनले हिन्दू धर्म जोगाउन सबैले आत्मसमीक्षा गर्दै सुधार आवश्यक रहेको पनि बताए।
कार्यक्रमलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको पूर्ण समर्थन रहेको बताइएको छ।
साथै, गुरुकुलमार्फत हरेक घरमा तुलसीको बोट रोप्ने, वैदिक उपासना विधि अपनाउने लगायतका सकारात्मक अभियानहरू पनि अघि बढाइँदै छन्।
यो पहल दलित, विश्वकर्मा लगायत सम्पूर्ण शिल्पी समुदायलाई समेट्ने समावेशी वैदिक अभियानको उत्कृष्ट उदाहरण बनेको छ।
#धर्मसंस्कार #वैदिकशिक्षा #समावेशीसमाज #जातीयसमानता #झापा_समाचार
उहाँले हरेक दलित समुदायको घरघरमा तुलसीको बोट रोप्ने कार्य नियमित रूपमा अगाडि बढाइएको पनि बताए। वैदिक संस्कारमा तुलसीलाई पवित्रता, स्वास्थ्य र अध्यात्मिक उन्नतिसँग जोडिएको मानिन्छ।
यस अभियानमार्फत धार्मिक समानता, सामाजिक चेतना र आत्मगौरवको भावना प्रवर्द्धन गर्ने प्रयास भइरहेको उल्लेख गरिएको छ। पण्डित गणेश प्रसाद पन्तको नेतृत्वमा यस्तो अभियान चलाउनु सामाजिक समावेशीकरण र वैदिक परम्पराको साझा अभ्यासतर्फको सकारात्मक संकेत हो।
उक्त अभियानले जातीय भेदभाव विरुद्ध एकता, समानता र सहअस्तित्वको सन्देश दिनुका साथै वैदिक ज्ञान सबैका लागि हो भन्ने सोचलाई व्यवहारमा उतार्न मद्दत पुर्याएको छ।