सञ्जय महर, असार ३१
कञ्चनपुर — केही दिनअघि सडक दुर्घटनामा परी घाइते भएका जनसरोकार पोष्ट दैनिकका पत्रकार बीरसिंह ऐरीको उपचारका लागि प्रेस सेन्टर नेपालले आर्थिक सहयोग प्रदान गरेको छ।
नेपाल पत्रकार महासंघ शाखा सदस्य तथा प्रेस सेन्टर नेपाल कञ्चनपुरका सहसचिवसमेत रहेका पत्रकार ऐरीलाई औषधी उपचारमा सहयोग पु-याउने उद्देश्यले उक्त सहयोग गरिएको हो।
मंगलबार आयोजित एक कार्यक्रमका अवसरमा प्रेस सेन्टर कञ्चनपुरका अध्यक्ष अरुणप्रसाद भट्टले ऐरीलाई औषधी खरिदका लागि खर्च उपलब्ध गराएको जानकारी दिएका हुन्। उनले दुर्घटनामा परेका पत्रकारप्रति स्वास्थ्य लाभको कामना गर्दै यस प्रकारको सहयोग संस्थाको नैतिक जिम्मेवारी भएको बताए।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव राजेन्द्रप्रसाद अवस्थी, उपाध्यक्ष भास्कर केसी, सचिव हेमा भट्ट, नेपाल पत्रकार महासंघ कञ्चनपुरका कोषाध्यक्ष मोहन विष्ट, वाईसियल नेपालका जिल्ला संयोजक तिलक जप्रेस, तथा अन्य पत्रकार, प्रेस सेन्टरकर्मीहरूको उपस्थिति रहेको थियो।
यो सहयोग कार्यक्रम पत्रकार हित र संवेदनशील जिम्मेवारीको प्रतीकका रूपमा हेरिएको छ।