उग्रतारा सामुदायिक वनद्वारा विपन्न विद्यार्थीलाई ट्र्याकसुट र टिसर्ट वितरण

हेमा भट्ट, कृष्णपुर, असार ३२
कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा रहेका अति विपन्न, असहाय तथा टुहुरा विद्यार्थीहरूलाई लक्षित गर्दै उग्रतारा सामुदायिक वन उपभोक्ता समूहले ट्र्याकसुट र टिसर्ट वितरण गरेको छ। “पोषाक वितरण कार्यक्रम २०८२” अन्तर्गत असार ३२ गते राष्ट्रिय माध्यमिक विद्यालय, कलुवापुरको प्राङ्गणमा आयोजित कार्यक्रममा चार विद्यालयका २२२ जना विद्यार्थीलाई पोसाक प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ७ का अध्यक्ष घुम्न राना थिए भने विशिष्ट अतिथिका रूपमा कार्यपालिका सदस्य आरती धामी, सीएफसीसीका उपाध्यक्ष तथा सीता सामुदायिक वन अध्यक्ष पुनाराम चौधरी, वनदेवी सामुदायिक वन अध्यक्ष निरज भण्डारी, जानकी सामुदायिक वन अध्यक्ष चन्द्र प्रकाश भट्ट, विरेन्द्र सामुदायिक वनकी अध्यक्ष धर्मा भाट, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रअहरू, स्थानीय समाजसेवी, वन रक्षक, प्रहरी प्रतिनिधि, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन रानाले सामुदायिक वनको सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षौंदेखि विद्यार्थीलाई स्टेशनरी, झोला र लत्ताकपडा वितरण गर्दै आएको उल्लेख गरे। उनले यस प्रकारको सहयोगले विद्यार्थीमा हौसला बढाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै कञ्चन माध्यमिक विद्यालयका प्रअ कर्मराज चौधरीले विपन्न विद्यार्थीलाई पोसाक वितरण गर्नु सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भएको बताए।

समाजसेवी विष्णु खड्काले सामुदायिक वनको मृतक परिवारलाई दाउरा सहयोग, विद्यालयमा भौतिक पूर्वाधार सुधारमा अग्रसरता, र स्थानीय सरकारसँगको समन्वयको आवश्यकतामा जोड दिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर गैरालले सहयोगलाई अत्यन्त सान्दर्भिक भन्दै धन्यवाद प्रकट गरे।
सीता सामुदायिक वन अध्यक्ष पुनाराम चौधरीले सामुदायिक वन सामाजिक परिवर्तनको संवाहक भएको बताउँदै अझ विस्तृत योजना आवश्यक रहेको धारणा राखे।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष घुम्न रानाले सामुदायिक वनको यो कार्यलाई अनुकरणीय भन्दै आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए।

सामुदायिक वनको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस्तो कार्यक्रमले विपन्न विद्यार्थीहरूलाई राहत मात्र नभई शिक्षा प्रतिको लगाव बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply