रैकवार खबर दैनिक
साउन ०१
झापा जिल्लाको दमक नगरपालिका–३, बेलडाँगी बस्तीभित्र एक न्यानो कोठामा विहानीपख गुञ्जिने वैदिक मन्त्रहरूले सिंगो टोलमा आध्यात्मिक ऊर्जा फैलिन थालेको छ। ती स्वर अरू कोहीका होइनन् — ११ वर्षीया लक्ष्मी कालिकोटेका हुन्।
सानो अनुहार, चम्किला आँखा, र निधारमा टल्किने चन्दनको टीका। तर यो बालिका केवल उमेरले मात्र सानी हुन्, उनको साधनाले धेरैलाई लाज लगाइदिन्छ।
लक्ष्मीले केवल एक सातामा श्रीविष्णु सहस्रनाम — महाभारतको अनुशासन पर्वमा वर्णित हजार नामको महान स्तोत्र — पूर्ण रूपमा कण्ठस्थ गरिन्। यो सामान्य उपलब्धि होइन।
यो श्रद्धा, समर्पण र अनुशासनको संगम हो।
लक्ष्मीका बाबा — पण्डित मेघनाथ कालिकोटे — एक ज्योतिषाचार्य तथा भागवत कथा वाचक हुन्। आमा फुलमाया कालिकोटे, एक निष्ठावान धार्मिक नारी। त्यसैले लक्ष्मीको लय बचपनदेखि नै मन्त्र र महिमा भित्र गुञ्जिन थालेको थियो।
गुरु संस्कारशिरोमणि पण्डित गणेशप्रसाद पन्तको सतत् सान्निध्य र शिक्षा उनको साधनाको मार्गमा दीप बनेर चम्किएको छ।
लक्ष्मीले शिवमहिम्न स्तोत्र, देवी पुस्पाञ्जलि, गीता अध्याय १५, पुरुष सूक्तका १६ मन्त्रहरू पनि आत्मसात गरेकी छिन्।
उनी केवल पढ्दिनन् — मन्त्र भित्रको भाव, अर्थ र ऊर्जालाई अनुभूत गर्छिन्। यही हो उनको असल साधना।
बालिका भन्छिन्…“म सानो भए पनि मेरो सोच ठूलो छ। बाबाआमा र गुरुहरूले विश्वास गरे, म त्यसको सम्मान गर्दै छु। म पढ्छु, सिक्छु, बाँड्छु।”लक्ष्मीले अब समाजमा फैलिएको अज्ञान, अधर्म र निराशामाथि ज्ञान र श्रद्धाको बिजारोपण गर्ने दृढ संकल्प लिएकी छिन्।
सानो घाम, ठूलो उज्यालो:दमकको एउटा सानो टोलबाट सुरु भएको उनको यात्रा अब गाउँगाउँमा आशाको दीप बन्छ भन्ने विश्वास बढ्दैछ। नेपाल–भारतका थुप्रै ठाउँमा पिडित समुदायहरूका लागि सहानुभूति र सहयोग पुर्याउने लक्ष्मीको भावना, सानै उमेरमा चमत्कारिक लाग्दछ।
उनको दृढता, अनुशासन र श्रद्धा आजका बालबालिकाहरूका लागि मात्र नभएर हामी सम्पूर्णका लागि प्रेरणाको स्रोत बनेको छ।
लक्ष्मी कालिकोटे — नाम सानो लाग्ला, तर उनको साधना, सोच र समर्पण विशाल छ।