धार्मिक पर्यटन प्रवर्द्धन, हरियाली र प्लास्टिकमुक्त नगर निर्माणमा जोड
साउन ०१ धनगढी
कैलाली — गोदावरी नगरपालिका–१ पृथ्वीनगर टोल अत्तरियामा अवस्थित शिव मन्दिर परिसरमा वृक्षारोपण र सयपत्री फूल रोपण अभियान सुरु गरिएको छ। नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा चितवनबाट ल्याइएका उन्नत जातका पाँच हजारभन्दा बढी सयपत्री फूलका बिरुवाहरू मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्दै रोपण कार्य प्रारम्भ गरिएको हो।
त्यसैगरी, अत्तरिया–धनगढी ६ लेन सडकखण्डअन्तर्गत गोदावरी नगर क्षेत्रभित्र पर्ने मिडियनहरूमा पनि सयपत्री फूल रोपिएको छ। नगर प्रमुख भट्ट, नगरपालिका कर्मचारी, तथा श्रमिकहरूको संयुक्त टोलीले सडक मिडियनमा रोपण कार्य सम्पन्न गरेका हुन्।
कार्यक्रममा नगर प्रमुख भट्टले भने,
“गोदावरीलाई हरित, स्वच्छ र धार्मिक पर्यटकीय गन्तव्य बनाउने हाम्रो दीर्घकालीन योजना हो। प्रमुख चोक, मन्दिर, सडक मिडियन र सार्वजनिक स्थलहरूलाई हरियाली र सौन्दर्ययुक्त बनाउने अभियान निरन्तर चलिरहनेछ।”
उनले दशैं, तिहार, छठ लगायतका चाडपर्वमा प्लास्टिकजन्य सजावटी सामग्रीको सट्टा प्राकृतिक फूल प्रयोगलाई प्राथमिकतामा राखिएको बताए।
“प्लास्टिक प्रयोग न्यूनीकरण, वातावरणमैत्री विकल्पको प्रवर्द्धन र नगरवासीको सहभागितामा स्वच्छ, हरित र आत्मनिर्भर गोदावरी निर्माण गर्नु हाम्रो लक्ष्य हो,” उनले भने।
कार्यक्रममा सहभागी नेपाली कांग्रेसका युवा नेता हरी भट्टराईले चितवनबाट ल्याइएका फूल बिरुवाहरू गुणस्तरीय र सस्तो भएको जानकारी दिँदै मठमन्दिर वरपर, फोक्सेडाँडा लगायत स्थानहरूमा पनि फूल रोप्ने योजना अघि बढाइएको बताए।
नगरपालिकाका अनुसार यस अभियानले धार्मिक पर्यटन प्रवर्द्धनसँगै नगरको सौन्दर्य र वातावरणीय सन्तुलनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।