श्रावण २-२०८२
कञ्चनपुर-नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले पुनर्वास नगरपालिका वडा नं. ९ स्थित ऐतिहासिक प्यारातालमा सम्पन्न बैठक मार्फत ११ बुँदे महत्वपूर्ण निर्णयहरु गर्दै स्थानीय सञ्चार सशक्तिकरणदेखि सिमा विवाद समाधानसम्मका विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छ।
बैठकमा निम्न बमोजिमका निर्णयहरू गरिएका छन्:
१. स्थानीय सञ्चार नीति निर्माण र कार्यान्वयन: कञ्चनपुरका ९ वटै पालिकाहरूलाई स्थानीय सञ्चार माध्यमलाई प्रभावकारी बनाउन नीतिगत ढाँचा तयार गरी कार्यान्वयन गर्न आग्रह।
२. लोककल्याणकारी विज्ञापन व्यवस्थापन: सूचना प्रशारण, प्रकाशन र वितरणसम्बन्धी आवश्यक कानुनी प्रवन्ध गर्न सबै पालिकालाई सिफारिस।
३. सूचना प्रकाशन अनिवार्य: सार्वजनिक महत्वका सूचना स्वप्रकाशनको व्यवस्था अनिवार्य गर्न सबै तहका सरकारी र गैरसरकारी संस्थाहरुलाई अनुरोध।
४. सञ्चारकर्मी क्षमता अभिवृद्धि: सञ्चारकर्मीहरूलाई तालिममार्फत सशक्त बनाउँदै स्थानीय गतिविधि नियमित रूपमा सञ्चार माध्यमबाट सम्प्रेषण गर्न पहल।
५. सञ्चार शीर्षक बजेटको पारदर्शिता: सञ्चारसम्बन्धी बजेट पारदर्शी, मितव्ययी र समानान्तर तरिकाले वितरण गरिनुपर्नेमा जोड।
६. बजेट सूचना सर्वसाधारणसम्म: पालिकाहरूको वार्षिक योजना, बजेट र कार्यक्रमहरू स्थानीय सञ्चारमाध्यममार्फत सार्वजनिक गर्न निर्देशन।
७. पत्रकार आचारसंहिता पालना: सञ्चारकर्मीहरूलाई आचारसंहिता पालना गर्दै जनचासोका विषयमा सशक्त रूपमा प्रस्तुत हुन आग्रह।
८. संस्थागत सहकार्य र समन्वय: सबै पालिका र निकायलाई महासंघसँग सहकार्य र समन्वय गर्न आव्हान।
९. प्याराताल तथा अन्य पर्यटकीय क्षेत्रको प्रवर्द्धन: प्यारातालको पर्यटन प्रवर्द्धन, बजेट सुनिश्चितता र प्रचारप्रसारमा सबै तहका सरकारलाई ध्यान दिन आग्रह।
१०. सीमा विवाद र अतिक्रमणप्रति गम्भीरता: पुनर्वासदेखि पश्चिम उत्तरसम्म देखिएको नेपाल-भारत सिमा विवादबारे गम्भीर हुँदै कूटनीतिक माध्यमबाट समस्या समाधानको माग।
११. बैठक सफलताका लागि धन्यवाद: बैठकमा सहभागी सबै सदस्य तथा सहयोगी पक्षलाई नेपाल पत्रकार महासंघ कञ्चनपुरले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
प्यारा ताल जस्ता ऐतिहासिक र पर्यटकीय स्थलमा पत्रकार महासंघको बैठक हुनु आफैमा महत्वपूर्ण सन्देश हो। महासंघले स्थानीय तहको उत्तरदायित्वबोध गराउँदै जनसरोकारका विषयमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको छ।