देउरानी–जेठानी नास्ता पसल स्वाद मात्रै होइन, सम्बन्धको मिठास पनि बाँड्दै

हेमा भट्ट श्रावण २, २०८२
कञ्चनपुर-पुनर्वास नगरपालिका–९, राष्ट्रिय मावि चोकमा खुलेको ‘देउरानी–जेठानी नास्ता पसल’ अहिले चर्चाको शिखरमा छ। पसल खुलेको एक सातामै स्थानीय ग्राहकको मन जित्दै यो सानो तर सन्देशमूलक व्यवसाय उदाउँदो प्रेरणा बनेको छ।

पसलको नाम झट्ट सुन्दा सामान्य लागे पनि यसको पछाडि छ गहिरो सामाजिक सन्देश। फरकफरक आमाबुवाकी सन्तान — अहिले देउरानी र जेठानी बनेकी दुर्गा क्षेत्री र सुविक्षा क्षेत्री — एउटै छानामुनि सहकार्य गर्दै पसल सञ्चालनमा जुटेका छन्।

दुर्गा भन्छिन्,देउरानी–जेठानीको सम्बन्धलाई समाजमा कहिलेकाहीं नकारात्मक रुपमा हेर्ने गरिन्छ। तर हामीले देखाएका छौं — यो सम्बन्ध पनि प्रेम, विश्वास र सहयोगले भरिएको हुन सक्छ।”

पसल सफा, व्यवस्थित र स्वादिलो छ। यहाँ म:म:, चाउमिन, पानी पुरी, कोल्ड ड्रिङ्क्स लगायतका विभिन्न परिकार अर्डर अनुसार बनाइन्छ। नास्ताको स्वादले मात्रै होइन, सेवाभाव र सौहार्दले ग्राहकलाई आकर्षित गरिरहेको छ। अहिले दैनिक ५ हजार रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ।

दुबै दिदीबहिनीका श्रीमानहरू वैदेशिक रोजगारीमा छन्। तर उनीहरू भन्छन् परनिर्भरताको सट्टा आफ्नै श्रममा विश्वास गरौं। आत्मनिर्भर बन्नु नै साँचो शक्ति हो।

उनीहरू व्यवसायसँगै आमाको जिम्मेवारी पनि कुशलतापूर्वक सम्हालिरहेका छन्। व्यवसाय सञ्चालन मात्र होइन, समाजमा सकारात्मक सन्देश फैलाउनु नै उनीहरूको मुख्य उद्देश्य हो।

‘देउरानी–जेठानी नास्ता पसल’ आज महिला सशक्तीकरण, सामाजिक समरसता, र आत्मनिर्भरताको जीवित उदाहरण बनेको छ। स्वादको चटकारो मात्रै होइन — सम्बन्धको मिठास र सहकार्यको सुगन्ध फैलाउने एउटा अनुपम स्थल बनेको छ।

छोटकरी अन्तरवार्ता

प्र. तपाईंहरूलाई यस्तो नाम राख्ने प्रेरणा कहाँबाट आयो?
दुर्गा: समाजमा देउरानी–जेठानी सम्बन्धलाई नकारात्मक रूपमा हेरिन्छ। हामीले देखाउन खोज्यौं कि यो सम्बन्ध पनि सहकार्य र माया हुन सक्छ।

प्र. घर, बच्चा र व्यवसाय सँगसँगै कसरी सम्भव भयो?
सुविक्षा: तालमेल, विश्वास र समर्थन। हामी दिदीबहिनी हौं, साथले सम्भव बनायौं।

प्र. श्रीमानहरू विदेश हुनुहुन्छ, असर परेको छ?
दुर्गा: हामी आत्मनिर्भर बन्न चाहन्थ्यौं। विदेशको भर पर्नुभन्दा आफ्नै श्रममा विश्वास गर्यौं।

प्र. उद्देश्य के हो?
सुविक्षा: पैसा मात्र होइन, सन्देश दिन चाहन्छौं महिला पनि सक्षम छन्, सम्बन्ध पनि मिठो हुन सक्छ।

प्र. अबको योजना?
दुर्गा: सेवा विस्तार र भविष्यमा शाखा खोल्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply