साउन ०४ धनगढी
समयमा पानी नपर्नाले कैलालीका कृषकहरु चिन्तित बन्न थालेका छन् । पानी अभावका कारण खेतवारीमा रोपेका धानहरु सुक्न थालेपछि कृषकहरु चिन्तित वन्न थालेका हुन् । कैलाली क्षेत्रका धेरै भुभागमा लगाएका धानमा गोवारो लाग्नुका साथै समयमा पानि नपर्नाले धान सुक्न थालेको कृषकहरुको गुनासो रहेको छ ।
कैलारी गाउपालिकाका ४ बस्ने भवनाराम चौधरीले २ विगाह ३ कठ्ठा जमिनमा धान रोपेका छन् । उनको खेतबारीमा लगाएको धान पुरै सुक्न थालेको छ ।
धान सुक्न थालेपछि चौधरी चिन्तित बनेका छन् । परिवारको खर्च यसैवाट चलेको थियो, तर यो वर्ष पानी समयमा नपर्नाले आफूलाई निराश बनाएको उनले निशाना न्युजलाई जानकारी दिए ।
यो बर्ष समयमा पानी नपर्नु र गोवारो लाग्नुले धान उत्पादनमा कमि आउछ कि भन्ने चिन्ता लागेको उनले बताए । पुरै धान सुकिसकेको छ उनले भने,–साधन हुनेले वोरिङ्गवाट पानी लगाउन थालेका छन् तर साधन नहुनेको धान पुरै सुकिसकेको छ ।
गत बर्ष खानका लागी १५ क्वीन्टल धान घरमा राखेर १० क्वीन्टल बेच्थे तर यो बर्ष खानलाई नपुग्ने जस्तो भईसक्यो । मौसम अझै सक्रिय छैन १० दिनमा पनि पानी परेन भने के खाने र कसो गर्ने भन्ने चिन्ताले सताउने उनको भनाई छ ।
पहिला त धानको लागी पर्याप्त पानी पर्ने गरेको थियो तर यो बर्ष छाटकाट देखिदैन । चिन्ता त भइहाल्छ नि बर्ष भरी परिश्रम गरेपछि प्रतिफल दिएन भने उनले दुखेसो गर्दै भने यो बर्ष हामी जस्ता कृषकलाई अप्ठेरो छ । यो बर्ष कैलालीमा ६७ हजार हेक्टर जमिनमा धानखेती भएको कृर्षि ज्ञानकेन्द्र धनगढीले जानकारी दिएको छ ।
पर्याप्त पानी नपर्नाले अहिले किसानहरु मोटर र बोरिङको सहायताले सिँचाई गर्दै आएका छन् । तर अधिकाँस कृषियोग्य जमिनमा सिँचाईको उपलब्धता नहुँदा किसानहरु मर्कामा पर्दै आएका छन् ।
आकाशे पानीको भरमा खेती गर्दै आएका कैलालीका अधिकांश किसानहरुको चौधरीकै जस्तो समस्या भोग्नु पर्ने चिन्तामा छन् ।