हेमा भट्ट साउन ६
कञ्चनपुर – कृष्णपुर नगरपालिका–९ मा मोहनापुलदेखि करिब १,१०० मिटर लम्बाइको कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ। तर संरचनात्मक सुरक्षा बिना यो सडक वर्षा सुरु हुनासाथ जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन्।
निर्माण कार्य ममता कन्स्ट्रक्सनले सम्पन्न गरेको हो। कम्पनीका सञ्चालकले सडकको उचाइ ६ मिटर भएकाले बिपद् व्यवस्थापनसँग तत्काल समन्वय आवश्यक रहेको बताए। उनका अनुसार, “सडक संरक्षण नहुँदा वर्षा हुनासाथ आवतजावत बन्द हुन्छ। स्थानीय सरकार र सडक डिभिजनको पहल अनिवार्य छ।”
उनले चेतावनी दिँदै भने, “अबको दुई दिनमा भारी वर्षा भयो भने सडकमा आवागमन जटिल बन्नेछ। त्यसैले तुरुन्तै बजेट सुनिश्चित गर्दै सुरक्षात्मक संरचना—जस्तै पर्खाल, नाली र ढलानको व्यवस्था गर्नु अत्यावश्यक छ।”
स्थानीयको व्यङ्ग्य : “सुट, कोट, चस्मा छ… तर पाइन्ट छैन!”
सडक बनिसकेपछि संरक्षण नहुँदा स्थानीयले तीतो व्यङ्ग्य गरेका छन्। “सुट, कोट, टाई, चस्मा सबै छ तर पाइन्ट छैन — सडक पनि त्यस्तै भयो, कालोपत्रे त भयो, तर संरक्षण छैन,” स्थानीयवासीको गुनासो छ।
ठेकेदार चिन्तित: “फलामका चिउरा चपाउनु परेको छ”
सडक निर्माणका ठेकेदार अन्योलमा छन्—“काम गरूँ कि नगरूँ।” वर्षातले संरचना बगाउने सम्भावना रहेकाले संरक्षणको पहल विना थप काम जोखिमपूर्ण हुने उनीहरूको भनाइ छ।
ममता कन्स्ट्रक्सनका संयोजकले भने, “गुणस्तर त छ, तर मात्रामा कमी छ। अहिले वर्षा नपरे पनि माटो बग्न थालेको छ। दायाँ–बायाँ किनाराको माटो बग्ने बित्तिकै कालोपत्रे बग्ने अवस्था आउँछ। अहिले नै कालोपत्रे फाट्न थालेको छ। मेरो लगानी डुब्ने भयो।”
स्थानीय सरकार र सरोकारवालालाई चाँडो निर्णयको आग्रह
ठेकेदार र स्थानीयवासी दुवैले सरकार र सरोकारवाला निकाय—जिल्ला प्रशासन, विपद् व्यवस्थापन कार्यालय र सडक डिभिजन—लाई तात्कालिक समन्वय र हस्तक्षेप गर्न आग्रह गरेका छन्।
रैकवार खबर दैनिकसँग आँखा रसाउँदै ठेकेदारले भने, “पटक–पटक नयाँ भरान हुँदैछ, कालोपत्रे सडक फाट्न थालेको छ। अहिले पहल नभए सरकारको बजेट पनि डुब्नेछ, हाम्रो लगानी पनि।”
सडक निर्माण पछि संरक्षण नगर्नु गम्भीर प्राविधिक लापरवाही हो। संरक्षण संरचना विना कालोपत्रे सडक केही दिनमै नष्ट हुने खतरा देखिएको छ। अतः सम्बद्ध सबै निकायको तत्काल हस्तक्षेप अनिवार्य छ।