कञ्चनपुर, साउन ६
सुदूरपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकिएको मितिमै सम्पन्न गर्न पाँच विद्यार्थी संगठनले माग गरेका छन्।
अखिल (क्रान्तिकारी), अनेरास्ववियू, प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल समाजवादी र बहुमत क्रान्तिकारी निकट संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचनमा अवरोध खडा नगर्न आग्रह गरेका हुन्।
उनीहरुले मंगलबार उम्मेदवारी दर्ताको क्रममा नेविसंघका नरेश पण्डित समूहले आफ्नो संगठनभित्रको आन्तरिक विवादको आक्रोश निर्वाचन प्रक्रियामाथि पोखेको आरोप लगाएका छन्।
संयुक्त विज्ञप्तिमा भनिएको छ, “चुनाव नचाहने गिरोहले अखिल (क्रान्तिकारी) र नेविसंघबीच झडप भएको झुटो प्रचार गरेर चुनाव भाँड्ने प्रयास गरिरहेको छ।” उनीहरुले पाँच संगठनको जित सुनिश्चित देखेपछि विपक्षी समूहहरुले उम्मेदवारी दर्ताकै बेला अवरोध सिर्जना गरेको दाबी गरेका छन्।
विज्ञप्तिमा सरकारमा रहेका दलका विद्यार्थी संगठन अराजक बनेको, प्रहरी हस्तक्षेप स्वाभाविक रहेको उल्लेख गर्दै “क्रान्तिकारी संगठनमाथि झूटा आरोप लगाइएको” भन्दै भर्त्सना गरिएको छ।
संयुक्त विज्ञप्तिमा चुनाव कार्यतालिका अनुसार अघि नबढे आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।
विज्ञप्तिमा अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दल बहादुर धामी, अनेरास्ववियू संयोजक प्रज्वल कुँवर, राप्रविसंघ अध्यक्ष प्रेम रावल, अखिल समाजवादी जिल्ला इञ्चार्ज ललित सी र बहुमत क्रान्तिकारी निकट अखिलका सुपवि इञ्चार्ज प्रकाश भट्टको हस्ताक्षर रहेको छ।