हेमा भट्ट- साउन ९
कञ्चनपुर – पुनर्वास नगरपालिका–९ स्थित अलंकार पब्लिक स्कुलको आयोजनामा ‘साइकल चलाऔं, स्वस्थ बनौं’ भन्ने मूल नारासहित शैक्षिक अवलोकन अन्तर्गत प्यारा तालमा सरसफाइ अभियान सम्पन्न भएको छ।
शैक्षिक भ्रमणमा सहभागी विद्यार्थीहरूले ताल परिसरको फोहोर संकलन गर्दै वातावरण संरक्षणप्रति प्रतिबद्धता जनाए। उनीहरूले “सरकारले गर्नुपर्ने कामको थालनी नागरिक स्वयंले गर्नुपर्छ” भन्ने भावना व्यक्त गर्दै आफ्नो स्तरबाट सकारात्मक परिवर्तन ल्याउने प्रयास गरिएको बताए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले ताल क्षेत्र दिनप्रतिदिन बढ्दो पर्यटन चापले प्रभावित हुँदै गएकाले यसको संरक्षण अत्यावश्यक रहेको धारणा राखे।
ताल संरक्षण समितिका संयोजक दिपेन्द्र बस्नेतले यस्तो जनचेतनामूलक अभियानमा विद्यार्थीहरूको सक्रिय सहभागिताप्रति धन्यवाद दिँदै भने, “राम्रो कामको सुरुवात युवाबाट हुनु शुभ संकेत हो।”
सामाजिक उत्तरदायित्व र वातावरणीय सचेतनालाई प्रोत्साहन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानले अन्य विद्यालय तथा संघसंस्थालाई पनि प्रेरणा दिने विश्वास आयोजक विद्यालयले व्यक्त गरेको छ।