हेमा भट्ट धनगढी, साउन ११
धनगढी उप–महानगरपालिका वडा नं. १३ स्थित राजपुरमा राना थारु समुदायले परम्परागत तिज विशेष सांस्कृतिक कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गरेको छ। राना युथ क्लबको आयोजनामा, राजपुर टोल विकास समितिको सहकार्य र १३ नं वडा कार्यालयको सहयोगमा सम्पन्न कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता क्लबका उपाध्यक्ष मदन रानाले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि वडा नं. १३ का निर्वाचित वडा सदस्य हिरालाल राना रहेका थिए।
त्यस अवसरमा समाजसेवी शिवनारायण राना, भलमान्सा भोजराम राना, बुद्धिजीवी तथा स्थानीय अगुवा र युवाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले समाजमा बढ्दो लागूपदार्थ दुरुपयोगप्रति चिन्ता व्यक्त गर्दै अभिभावक, समाजसेवी र युवाहरू मिलेर सचेतना फैलाउनु आवश्यक रहेको बताए।
उनले भने:
“लागूपदार्थको बढ्दो प्रकोपका बीच हाम्रा बालबालिकाको सुरक्षाका लागि हामी सबै जिम्मेवार हुनुपर्छ। साथै हाम्रो भाषा, संस्कृति र पहिचान जोगाउन वडा कार्यालय सधैं तपाईंहरूको साथमा रहनेछ।”
संस्कृति, पहिरन र उत्सवको रंगीन झल्को:कार्यक्रममा स्थानीय राना थारु महिलाहरू परम्परागत सांस्कृतिक पोशाक—रङ्गीचङ्गी लुग्गा, चोली, फेटा र गहनामा सजिएर डोला खेल्दै सहभागी भएका थिए।
उनीहरूले परम्परागत तिज गीत गाएर गाउँघरको एकता, प्रेम र महिला भावनालाई भावुक रूपमा प्रस्तुत गरे।
स्थानीय कलाकारहरूद्वारा प्रस्तुत मौलिक तिज गीत र नृत्यहरूले कार्यक्रममा थप ऊर्जा भरेको थियो।
सामाजिक अभियन्ता मनकला रानाले भनिन्:“तिज केवल पर्व होइन, यो हाम्रो संस्कृति र अस्मिताको प्रतीक हो। हामीले यसलाई संरक्षण गरेर नयाँ पुस्तामा यो माया जगाउनुपर्छ।”
कार्यक्रममा प्रस्तुत गीत र डोला खेलमार्फत महिलाहरूले सामाजिक सन्देश—एकता, महिला सशक्तिकरण र संस्कृतिको सम्मानको सन्देश दिएका थिए।
कार्यक्रमका संयोजक सजनी रानाले धन्यवाद ज्ञापन गर्दै भनिन्:“हाम्रो प्रयास युवाहरूमा संस्कृति र पहिचानप्रतिको जिम्मेवारी बढाउनु हो। आजको सहभागिता हेर्दा लाग्छ—हामी सही मार्गमा छौं।”
कार्यक्रमको अन्त्यमा सामूहिक भोजन, शुभकामना आदान–प्रदान र फोटोसेसन गरिएको थियो।