साउन ११ धनगढी
कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारु समुदायले आज हर्षोल्लासका साथ तीज पर्व मनाइरहेका छन् । रानाथारु समुदायमा महिलाहरुले दाजुभाइ तथा भतिजाको सुस्वास्थ्य र लामो आयुको कामना गर्दै तीज मनाइरहेका हुन् ।
श्रावण शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरू दिनभर निराहार व्रत बसेर मनाउन गर्दछन्। व्रतालु महिलाहरूले दिनभरको व्रतपछि साँझपख नदी किनारमा गएर पूजाआजा गर्ने परम्परा रहेको रानाथारु समुदायका जानकारहरु बताउँछन् ।
धनगढी उपमहानगरपालिका–११ की फिरियादेवी रानाले तीजको केही दिन अघिबाट पिङ खेल्ने नाचगान गर्ने चलन रहेको बताइन् । उनले भनिन् ‘आज निरहार ब्रत बसी दाइभाइको दीर्घायुको कामना गर्दै तीजको समापन गरिन्छ।’
उनले झुला (पिङ) निर्माण गर्दा ७ गाँठो बाधिने र समापनको दिन सो गाठोलाई पूजा गर्दै दाइभाइको दीर्घायुको कामना गरी नदीमा सेलाइने बताइन् ।
रानाथारु समुदायको तीजको अवसरमा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको पुनर्वास, लालझाडी, बेलौरी र कृष्णपुर नगरपालिकाले आज स्थानीय सार्वजनिक बिदा समेत दिएका छन् ।