साउन १३ धनगढी
थारु समुदायमा आज गुरही (गुरिया) मनाइँदै छ । यो पर्व नाग पञ्चमीको दिन मनाइने गरिन्छ । गुहेरी पर्व विशेषगरी पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेतका साथै पछिल्लो समय काठमाडौँमा समेत भव्यताका साथ पर्व मनाउन थालिएको छ ।
गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन थारु समुदायमा रहँदै आएको छ । यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ । बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने/पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ ।
गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यसैबिच थारु बहुल क्षेत्रस्थित स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका छन् । कैलालीकै कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका लगायत पालिकाहरूले सार्वजनिक बिदा दिएका हुन ।
नागपञ्चमी पर्व पनि परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।