छाउपडी कुप्रथाका विरुद्ध सांसद मधु भारतीको आवाज, प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण

साउन १३ धनगढी
सुदूरपश्चिम प्रदेशकी सांसद मधु भारतीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउपडी गोठमा सुत्दासुत्दै २८ वर्षीया कमला दमाई (औजी) को सर्पदंशबाट मृत्यु भएको घटनालाई गम्भीर सामाजिक त्रासदीका रूपमा प्रदेशसभामा उठाएकी छिन्।

प्रदेश सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद भारतीले छाउपडी जस्ता कुप्रथाकाे जड उखेल्न प्रदेश सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिइन्। छाउपडी प्रथाविरुद्ध बनेका ऐन तथा कानुनहरू व्यवहारमा लागू हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भनिन्, “कानुन त छ, तर महिलाहरू अझै पनि असुरक्षित गोठमा सुत्न बाध्य छन्। यो कानुनी होइन, सामाजिक क्रान्तिको खाँचो हो।”

कुरुतीको त्रासदीपूर्ण उदाहरण

कमला दमाईको मृत्युलाई सांसद भारतीले समाजमा अझै जरा गाडेर बसेको अन्धविश्वास, कुसंस्कार र कुरितीको ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गर्दै भनिन्, “२१ औँ शताब्दीमा पनि महिलाहरूले यस्तो मृत्यु भोग्नु आफैँमा शर्मनाक हो। यो सभ्य समाजको बाधक हो।”

‘छाउगोठ मात्रै होइन, मनको छाउगोठ भत्काउनुपर्छ’

छाउपडी अन्त्यका लागि गोठ भत्काएर मात्र नहुने, मानिसको सोच र मानसिकता परिवर्तन गर्नुपर्ने धारणा सांसद भारतीले व्यक्त गरिन्। उनले भनिन्, “छाउगोठ भत्काएर मात्रै हुँदैन, मनभित्रको छाउगोठ पनि भत्काउन जरुरी छ।”

नीति मात्र होइन, व्यवहारमै लागू गर्न सरकारलाई आग्रह
सांसद भारतीले छाउपडी कुप्रथाको अन्त्य गर्न नीतिगत तथा व्यवहारिक दुबै तहमा काम गर्न आग्रह गर्दै प्रदेश सरकारलाई गम्भीर जिम्मेवारीका साथ अभियान सञ्चालन गर्न आग्रह गरिन्। उनले विशेषगरी सुदूरपश्चिमका दुर्गम जिल्लाहरूमा अझै पनि छाउपडी प्रथा व्याप्त रहेको भन्दै यसले महिला स्वास्थ्य, मर्यादा र जीवनमै असर पारिरहेको उल्लेख गरिन्।

विकास योजनाको कार्यान्वयनमा पनि जोड

यही सन्दर्भमा सांसद भारतीले चालू आर्थिक वर्ष २०८२/८३ मा विनियोजन गरिएका विकास निर्माणका योजना समयमा सम्पन्न गर्नसमेत सरकारको ध्यानाकर्षण गराइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply