कञ्चनपुर- खुला सीमा, लागुऔषध र शान्ति सुरक्षाबारे बेलौरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रैकवार खबर साउन १४, २०८२
कञ्चनपुर – भारतसँग खुला सीमा जोडिएको कञ्चनपुरको बेलौरीमा लागुऔषधको ओसारपसार, ठगी, चोरी–तस्करी र शान्ति सुरक्षाका विषयमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयोजनामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको सहकार्यमा उक्त कार्यक्रम बुधबार सम्पन्न भएको हो।

कार्यक्रममा सीमावर्ती क्षेत्रका वडाध्यक्ष, वडा सदस्य, जनप्रतिनिधि, सरोकारवाला र स्थानीय अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले भारतसँग जोडिएका नाकामा हुने लागुऔषध ओसारपसार, ठगी, आपराधिक क्रियाकलाप, भन्सार छली नियन्त्रणका लागि सीमा क्षेत्रमा जनसहभागिता आवश्यक भएको बताए। उनले बालबालिका पनि लागू औषधको कुलतमा पर्न थालेकोप्रति चिन्ता व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्मर बहादुर विकले लागू औषध नियन्त्रण र शान्ति सुरक्षाको सुनिश्चिता अहिले नेपाल प्रहरीको प्राथमिकता रहेको बताए। “लागू औषध जस्तो गम्भीर समस्या प्रहरीको प्रयास मात्रले नियन्त्रण सम्भव छैन, जनसहभागिता अपरिहार्य छ,” उनले भने।

कार्यक्रममा बोल्दै बेलौरी–२ का वडाध्यक्ष कलबिर चौधरीले बजार क्षेत्रमा प्रहरी बिट खटाउन र वडा नं. ३ मा प्रहरी चौकी स्थापनाको माग गरे। बेलडाँडी–५ का वडाध्यक्ष इन्द्र खड्काले खुला सीमालाई व्यवस्थित गर्न प्रहरी तैनाथी जरुरी रहेको बताए। बेलौरी–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बालबालिकामाझ लागुऔषधको लत फैलँदा भयावह अवस्था सिर्जना भएको भन्दै सीमामा कडाइ गर्न जोड दिए।

पुनर्वास–६ का वडाध्यक्ष मित्र सिंह लामाले कारबाहीभन्दा पहिला जनस्तरमा चेतनामूलक कार्यक्रम आवश्यक रहेको धारणा राखे। पुनर्वास–४ का वडाध्यक्ष मनोज जैशीले खुला सीमाका अनेकौं बाटो समस्याको जड भएको बताउँदै एउटै मार्गबाट नियमन गर्न पहल आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागिता जनाउँदै जिल्ला समन्वय समिति कञ्चनपुरकी उपप्रमुख रामकुमारी रानाले गाउँबस्तीमै लागू औषधबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ती नाथले यस्तो गम्भीर विषयमा कार्यक्रम आयोजना गरेकामा प्रहरीलाई धन्यवाद दिँदै स्थानीय तहहरूको सहकार्यबाट मात्रै समाधान सम्भव हुने बताइन्।

कार्यक्रममा अभियान्ता धर्मेन्द्र गिरीले कञ्चनपुरलाई लागुऔषधको ट्रान्जिट प्वाइन्टका रूपमा चिनिँदै गएको बताए। उनले गाउँस्तरमै अभिभावक, शिक्षक र स्थानीय सरकारको समन्वयमा सचेतना अभियान चलाउनुपर्नेमा जोड दिए।

समापन मन्तव्य दिँदै कार्यक्रम सभापति तथा बेलौरी नगरपालिकाका कार्यवाहक नगर प्रमुख जोगराम चौधरीले बेलौरीमा सुरु गरिएको लागू औषधविरुद्धको अभियानले प्रारम्भिक सफलता दिइरहेको बताए। “हामी सबै मिलेर निरन्तर अभियान चलाउन सक्यौं भने लागू औषधजस्तो समस्यालाई नियन्त्रण गर्न गाह्रो हुँदैन,” उनले भने।

कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भास्कर चन्दले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply