सेती प्रादेशिक अस्पतालमा चरम लापरबाही: बिरामी दिनभर डाक्टर नपाएर छटपटिए

हेमा भट्ट १४ साउन
धनगढी- डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाबाट उपचारका लागि सुदूरपश्चिम प्रदेशको मुख्य स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पतालमा आइपुगेका बिरामी जोेगी पार्कीले दिनभर डाक्टरको प्रतिक्षा गर्नुपरेको गुनासो गरेका छन्। इमर्जेन्सी सेवा भएकै अस्पतालमा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म एकजना हाडजोर्नी विशेषज्ञ डाक्टरसमेत भेट्न नसकिनु अस्पताल प्रशासनप्रतिको गम्भीर प्रश्न बनेको छ।

बिरामीको अवस्था कमजोर थियो। उनी हिँड्नै नसक्ने अवस्थामा थिए। आफन्तहरूले उनलाई इमर्जेन्सीमा लगे, तर त्यहाँबाट ओपीडीमा पठाइयो। ओपीडीमा लगेपछि त्यहाँका स्वास्थ्यकर्मीले पुनः इमर्जेन्सीमै पठाए। अन्ततः उनी दिनभर अस्पतालका गल्लीहरूमा अलपत्र परे।

“डाक्टर छैनन्, पछि आउँछन् भन्दै झुलाइयो। व्यवस्थापनलाई भन्यौँ, उनीहरूले पनि वास्ता गरेनन्। फोन गर्छौं भने पनि कोही आएन,” बिरामीका आफन्तको आक्रोश थियो।

इमर्जेन्सीका डाक्टरहरूलाई फोन गर्न आग्रह गर्दा ओपीडीमा कार्यरत कर्मचारी झर्किएर झपारेको अनुभव पनि उनले सुनाए। “जनताको करबाट तलब खानेहरू जनतालाई यसरी तड्पाउनु कहाँको सेवा?” एकजना अभिभावकले आक्रोश पोखे।

बिरामी जोेगी पार्की जस्तै अन्य पनि छन् जसले लामो पर्खाइ, असहज व्यवहार र चिकित्सकीय उपेक्षा सहनुपरेको बताएका छन्। अस्पतालको व्यवस्थापन संयन्त्रले समेत चासो नदिएपछि आम जनतामा अस्पतालप्रतिको विश्वास खस्कँदै गएको छ।

साँझपख बल्ल हाडजोर्नी विभागका चिकित्सकसँग भेटघाट हुन सकेको भए पनि दिनभरको पीडा, अपमान र अलमलले ‘सेती प्रादेशिक अस्पतालमा उपचार होइन, पीडाको अनुभूति भयो’ भन्ने भावना बढ्दै गएको देखिन्छ।

सेती प्रादेशिक अस्पताल प्रदेशकै सबैभन्दा ठूलो र सुसज्जित भनिएको अस्पताल हो। तर यस्ता लापरबाहीपूर्ण घटनाले जनताको स्वास्थ्य अधिकारमाथि प्रश्न उठाएको छ। सम्बन्धित निकायले यस्ता गम्भीर घटनामा तुरुन्तै ध्यान दिएर सुधारका कदम चाल्नुपर्ने माग बिरामी र सेवाग्राहीहरूबाट उठ्न थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply