साउन १६ धनगढी
धनगढी उपमहानगरपालिकाका कारण वडा नं. ७ देवहरियाका ५ जना महिलाहरु आत्मनिर्भर बन्न थालेका छन् । जाखोरताल महिला विकास दुनाटपरी उद्योग संचालन गर्न लगाइ उपमहानगरले उनीहरुलाई आत्मनिर्भर बनाएको हो ।
उपमहानगरले सुरुमा वडा नं ७ को कार्यालयमा दुनाटपरी तालिम लिन लगाएको र पछि दुनाटपरी बनाउने २ वटा मेसिन निःशुल्क रुपमा उपलब्ध गराएको सीता चौधरीले बताइन् ।
‘अहिले हामी दुनाटपरी बनाउन निपूर्ण भएका छौँ’ उनले भनिन् ‘दिनको एक हजार दुना र एक हजार टपरी उत्पादन गर्दैछौँ । माग अनुसार दुना र टपरी उत्पादन गरी मासिक २५ हजार बिक्री हुने गरेको छ ।’
‘धनगढी उपमहानगरपलिकाले सहयोग नगरेको भए हाम्रो जीवनस्तर नाजुक हुने थियो’ उनले भनिन् ‘नगरप्रमुखमा गोपाल हमाल विजय भएपछि हाम्रो जीवन स्तर उकास्न मद्धत पुगेको छ ।’ आफूहरु अहिले पूर्ण रुपमा आत्मनिर्भर बनेको उनको भनाइ छ । दुनाटपरीबाट बालबालिकाको पढाइलेखाइ र घर खर्च राम्रोसंग चलेको उनको भनाइ छ ।
‘बजारको समस्या छैन,हामी जति उत्पादन गर्छौँ सबै धनगढी बजारमा खपत हुन्छ’ उनले भनिन् ‘केही काठमाडौँ पनि पठाउने गरेका छौँ ।’ दुना टपरी बढीजसो पूजा पसल, किराना पसल, विवाह ब्रतबन्धमा जाने गरेको उनको भनाइ छ । उनले आफूसँगै स्थानीय कमला चौधरी,भुलिया चौधरी,बिनिता रेग्मी र सविता चौधरीले दुनाटपरी उत्पादन गर्दै आएको बताउँदै बिक्री गरेको पैँसा समूहमा जम्मा गर्ने गरेको बताइन् ।
दुई वर्ष यता समुहमा जम्मा भएको पैँसा प्रतिव्यक्ति ६० हजार भाग परेको विनिता रेग्मीले निशाना न्युजलाई जानकारी दिइन् । उनले भनिन् ‘पहिला कामको खोजीमा कहाँ जाने के गर्ने भन्ने थियो अहिले उपमहानगरपालिकाले बाटो देखाई दिँदा ढुक्कले काम गर्न सहज भएको छ ।’
बिहान घरको काम गर्ने र दिउँसोको समयमा दुनाटपरी बुन्ने काममा लाग्ने गरिएको उनले बताइन् । सुरुमा बजार बनाउन समस्या भएको र बजार बनिसकेपछि दुनाटपरी खपत भइरहेको उनले बताइन् । ‘अहिले माग अनुसार उत्पादन गर्न सकिँदैन माग बढी हुन थाल्यो’ उनले भनिन् ‘काम गर्न समस्या त हुने नै भयो । जाडोको समयमा अलि समस्या हुन्छ । जंगलबाट टिपेर ल्याएका पात छिटो सुक्दैन । समयमै सुकेन भने हामीलाई दुना टपरी उत्पादन गर्न समस्या हुन्छ ।’
‘मेसिनको कमी छ । हामीलाई थप एक मेसिनको आवश्यक छ’ उनले भनिन् ‘धनगढी उपमहानगरपालिकाले थप एक मेसिन उपलब्ध गराइ दिएको भए हामीलाई बजारको माग अनुसार उत्पादन गर्न सहज हुने थियो ।’
उनले दुनाको साइज अनुसारको मुल्य निर्धारण गरिएको बताइन् । सानो दुनाको ७० पैँसा, १ नम्बर साइजको ८० पैँसा,२ नम्बर साइजकोलाई १ रुपैया र ३ नम्बर साइजको दुनालाई डेढ रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताइन् । त्यस्तै,टपरी साढे ३ रुपैयाँमा बिक्री हुने गरेको उनले बताइन् । देवहरिया जंगलबाट पात टिप्न गरेको उनको भनाइ छ । धनगढी उपमहानगरपालिका आफू जस्ता महिलाका लागि सहयोगी बनेको उनले बताइन् । निशाना न्युज