साउन १८,
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२, सिहपाल टोलकी सम्झना भट्टको शंकास्पद मृत्यु प्रकरणमा माइती पक्षले छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।
भीमदत्त नगरपालिका–६ ऐठपुर महेन्द्रनगर बस्ने मृतकको माइतीपक्षले सम्झनाको मृत्यु आत्महत्या नभई मानसिक यातना र हिंसाका कारण भएको आशंका व्यक्त गरेका छन्।
२० वर्षीय सम्झना भट्ट आइतबार बिहान आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। मृतककी बुबा भोजराज भट्टका अनुसार छोरीको विवाहपछि निरन्तर मानसिक तनाव दिइँदै आएको थियो। “विवाहपछिका दिनहरूमा छोरीले पटक–पटक तनावको कुरा सुनाउँदै आएकी थिइन्,” उनले भने, “शनिबार सम्झना घर आउन खोजेकी थिइन् तर पैसा नभएकाले फर्किएकी रहिछन्। भोलिपल्ट बिहानै पनि प्रहरीले सम्झाई बुझाई गरेको थियो तर छोरी बाँचिनन्।”
मृतक सम्झनाको शरीरमा चोटपटक र निलडाम देखिएको भन्दै माइती पक्षले शंका प्रकट गरेको छ। “झुण्डिएको भनिएपनि शरीरमा चोटहरू देखिन्छन्, हामी यो मृत्यु शंकास्पद मान्छौं,” मृतकका आफन्तले बताए।
सम्झना र पवन भट्टबीच गत फागुनमा प्रेम विवाह भएको थियो। घटना अघिल्लो दिन बेलडाँडी इलाका प्रहरी कार्यालयमा दम्पतीलाई सम्झाइ–बुझाइ गरिएको प्रहरी स्रोतले जनाएको छ।
घटनापछि सम्झनाका श्रीमान् पवन भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव अहिले महाकाली अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराले घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।