कृष्णपुर नगर अस्पताल निर्माण ढिलाइ : न जमिन छ, न निर्माण

शकर अवस्थी, कञ्चनपुर – २० साउन
कञ्चनपुर – कृष्णपुर नगरपालिकामा निर्माणाधीन नगर अस्पतालको काम जमिन अभावका कारण अलपत्र परेको छ। अस्पताल भवन निर्माणका लागि २०७७ माघ ११ गते सूचना प्रकाशनसहित प्रक्रिया सुरु भए पनि अहिलेसम्म निर्माण कार्य थालिएको छैन।

नगरपालिका–५ गुलरिया स्थित स्वास्थ्य चौकीकै प्राङ्गणमा अस्पताल निर्माण गर्ने उद्देश्यसहित बराह डेभलपर्स प्रालि (राजेन्द्र निर्माण सेवा प्रालि) सँग २०७८ जेठ ५ देखि २०८० जेठ ४ भित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। सम्झौता अनुसार ६ करोड ९९ लाख ७३ हजार ६७६ रुपैयाँ (भ्याट सहित) मा ठेक्का तोकिएको थियो।

तर निर्माण कम्पनीले साइट हस्तान्तरण नहुँदा काम अघि बढाउन नसकेको जनाएको छ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ५ का अध्यक्ष टेक पाण्डेयका अनुसार अस्पतालका लागि कम्तीमा ११ कट्ठा जमिन आवश्यक भए पनि उचित अध्ययनबिना डिपिआर तयार पारिएको थियो।

“डिपिआरमा मागिएको भन्दा दुई मिटर बढी क्षेत्रफल मागिएको थियो, त्यसमाथि सो डिपिआर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृतसमेत नगराईकनै ठेक्का सम्झौता गरिएको रहेछ,” पाण्डेयले बताए।

उनले त्रुटिपूर्ण प्रक्रिया तथा अस्पष्ट साईड निर्धारणकै कारण अस्पताल निर्माण सुरु हुन नसकेको बताए। “शुरूबाटै गल्ती भयो, अहिले आएर त्यसैको परिणाम देखिएको छ,” पाण्डेयले भने, “पूर्व एमाले नेतृत्वको पालिकाले सम्झौता गरे पनि साईड दिन नसकेकाले ठेकेदार अलमलमा परे।”

पाण्डेयका अनुसार ठेकेदार कम्पनीले पहिलो किस्ता पेस्की पनि बुझिसकेको थियो। तर तोकिएको समय सकिएको दुई वर्ष बितिसक्दा पनि निर्माण सुरु भएको छैन।

स्वास्थ्य शाखा प्रमुख रतन विष्ट भन्छन्, “टेण्डर डिपिआरअनुसार भयो, तर जमिन चाहिएको जति फुर्सदमा थिएन, त्यही अभावले काम अघि बढेन।”

नगर प्रमुख हेमराज ओझा भन्छन्, “भविष्यमा नगरभित्र उपयुक्त स्थानमा जमिन खोजेर नयाँरुपमा निर्माण प्रक्रिया अघि बढाइनेछ।”

उल्लेखनीय छ, २०७७ मंसिर १५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर ३९६ वटा नगर अस्पतालको उद्घाटन गरे पनि कृष्णपुरमा कार्यान्वयन हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply