हेमा भट्ट, २२ साउन,
कैलाली — गोदावरी नगरपालिकामा स्थायी रूपमा सञ्चालनमा आएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रले नगरको फोहोरमैला व्यवस्थापनमा नयाँ युगको थालनी गरेको छ। आज उक्त केन्द्रको स्थलगत अनुगमन एशियाली विकास बैंक (ADB) का प्रतिनिधिहरू र शहरी विकास मन्त्रालयको संयुक्त टोलीले सम्पन्न गरेको छ।
नगरपालिकाले दीर्घकालीन, सस्तो, सफा र वातावरणमैत्री फोहोर व्यवस्थापन प्रणाली कार्यान्वयन गर्ने उद्देश्यले यो परियोजना अघि सारेको हो। नगर प्रमुख विरेन्द्र भट्टको नेतृत्वमा सञ्चालित उक्त योजना अहिले गोदावरी नगरपालिकाको गौरवको परियोजनाका रूपमा चिनिएको छ।
केन्द्र सञ्चालनमा आएपछि नगरपालिकाका १२ वटै वडाहरूमा प्रभावकारी रूपमा फोहोर संकलन र व्यवस्थापन सुरु भएको छ। नगरपालिकाले यसले सहरी सौन्दर्य, स्वास्थ्य सुरक्षा र जलवायु अनुकूलतामा सकारात्मक असर पार्ने विश्वास लिएको जनाएको छ।
नगर प्रमुख भट्टले भने, “फोहोर व्यवस्थापन केवल सफाइको कुरा मात्र होइन, यो हाम्रो स्वास्थ्य, वातावरण र भावी पुस्ताप्रतिको उत्तरदायित्व हो। ADB को प्राविधिक तथा आर्थिक सहयोगले परियोजनामा गुणात्मक सुधार ल्याएको छ।”
नगरपालिकाले नगरवासीहरूलाई स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याएर दिन आग्रह गर्दै सहकार्यको अपेक्षा राखेको छ। वातावरण शाखाका अनुसार, यदि घरमै फोहोर छुट्याएर दिइयो भने रिसाइक्लिङ, कम्पोष्ट र अन्य व्यवस्थापन प्रक्रियाहरू कम खर्चिलो र बढी प्रभावकारी बन्न सक्छन्।
शहरी विकास मन्त्रालयका प्रतिनिधिले परियोजनालाई अन्य नगरपालिकाहरूका लागि पनि उदाहरणीय परियोजनाको रूपमा लिन सकिने बताएका छन्। अनुगमन टोलीले प्राविधिक, सामाजिक र व्यवस्थापकीय पक्ष सन्तोषजनक रहेको उल्लेख गर्दै यस्ता दीर्घकालीन योजनाहरूलाई अझ व्यापक बनाउनु पर्नेमा जोड दिएको छ।
नगर प्रमुख भट्टले गोदावरीलाई सुदूरपश्चिमकै नमुना नगरपालिका बनाउने दृढता व्यक्त गर्दै सम्पूर्ण नगरवासीहरूलाई सहयोग गरिदिन आग्रह गरेका छन्।