सीता कुण्ड ताल: सामुदायिक वन संरक्षण र समृद्धिको प्रेरक नमूना

हेमा भट्ट
कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ जोरायलमा अवस्थित सीता सामुदायिक वन पछिल्ला वर्षहरूमा वन संरक्षण, ताल निर्माण, र सामाजिक–आर्थिक उत्थानको क्षेत्र बनेको छ। सीता कुण्ड ताल, बन्यजन्तुहरूको आहार–बिहार तथा पानीको आवश्यकता पूर्ति गर्ने उद्देश्यले निर्माण गरिएको, आज एउटा आकर्षक गन्तव्य तथा सामुदायिक प्रेरणाको केन्द्र बनेको छ।

यो ताल तराई भू-परिधि संरक्षण कार्यक्रम, कोहलपुर र सीता सामुदायिक वन उपभोक्ता समूहको संयुक्त लगानीमा निर्माण गरिएको हो। तालको निर्माणले जैविक विविधता, हरियाली, र सामुदायिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ।

बन्यजन्तु संरक्षणको केन्द्र-:
वनका अध्यक्ष पुनाराम चौधरीका अनुसार, तालले वन्यजन्तुका लागि पानी पिउने स्रोत र सुरक्षित बासस्थान दुवैको रूपमा काम गरिरहेको छ। साल र असना जस्ता रुख–विरुवा रोपण गरी हरियाली प्रवर्द्धन, डढेलो नियन्त्रण, र माटो संरक्षणमा ध्यान दिइएको छ। ताल वरपरको क्षेत्र वन्यजन्तुहरूको चहलपहलले भरिएको छ।

कालापानी तलाब: जीवनको लय
वनभित्र रहेको कालापानी तलाब झन्डै ६ किलोमिटरभन्दा लामो छ र यो क्षेत्रको सदावहार पानीको स्रोत हो। गर्मीयाममा पनि पानीको सतह यथावत् रहने यो ताल अहिले वन्य जीवनको मेरुदण्ड बनिसकेको छ।

जनसहभागिता र रोजगार सृजना:
सीता सामुदायिक वनले गरिब, दलित तथा पिछडिएका वर्गका उपभोक्ताहरूलाई रोजगारीका अवसरहरू सिर्जना गरेको छ। घाँस, दाउरा संकलन, ताल सफाइ र वृक्षारोपणमा संलग्न गराएर उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउने प्रयास गरिएको छ। सामुदायिक वनमार्फत विद्यालयमा गरिब विद्यार्थीहरूलाई ब्याग, स्टेशनरी सामग्री पनि प्रदान गरिएको छ।

शिक्षा र चेतनाको प्रभाव-:
विद्यालयका विद्यार्थी र अभिभावकहरूलाई वन संरक्षण सम्बन्धी तालिमहरू प्रदान गरिएको छ, जसका कारण शिक्षामा व्यवहारिक परिवर्तन देखिएको छ। यो अभियानले वनप्रतिको सकारात्मक सोच र जिम्मेवारी समेत विकास गरेको छ।

पूर्वाधार निर्माण र भावी योजना:
वनमा आवश्यक नयाँ भवन र व्यवस्थापन प्रणाली निर्माण कार्य सुचारु भइसकेको छ। अध्यक्ष चौधरीका अनुसार, “अब केही दिनमै सामुदायिक वन आत्मनिर्भर हुने दिशामा अग्रसर हुनेछ।” साथै, हरेक वर्ष भ्रमण, नयाँ प्रविधि, र नविन कार्यक्रमहरूमार्फत वन व्यवस्थापनमा सुधार ल्याउने योजना पनि अघि बढाइएको छ।

सीता कुण्ड ताल र सीता सामुदायिक वन एक उदाहरणीय संरचना हुन्, जहाँ प्रकृति, मानव, र प्रविधिको समन्वय देखिन्छ। यस्ता सामुदायिक प्रयासहरूले नेपालमा दिगो विकास, वातावरण संरक्षण, र सामाजिक उत्थानको सपना साकार पार्न सहयोग पुर्याउनेछन्।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply