साउन २३ धनगढी ।
कैलालीको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेजले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याएको छ । हालै राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा एसपीए कलेजले यस क्षेत्रमै सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल भएको हो ।
कलेजबाट कक्षा १२ को परीक्षामा एक हजारभन्दा बढी विद्यार्थी सहभागी भएकोमा ५५८ जना उत्तीर्ण भएको क्याम्पस प्रमुख योगराज उपाध्याय गौतमले जानकारी दिए । उनले ५० प्रतिशत बढी नतिजा आएको बताए ।
विद्यार्थी संख्या बढी भएकाले प्रतिशतमा नतिजा कम देखिए पनि उत्तीर्ण संख्याका हिसाबले यस क्षेत्रमै सबैभन्दा राम्रो नतिजा भएको उनले बताए ।
२० जनाभन्दा बढी विद्यार्थी ए प्लस,३०५ जनाभन्दा बढी विद्यार्थी ३ जीपीए माथि ल्याएर उत्तीर्ण भएको उनले बताए । उनले भने ‘हामीले समाजका,विभिन्न जिल्ला,क्षेत्रका विद्यार्थीहरुलाई समेटेर जुन रिजल्ट ल्याउन प्रयत्न गरेका छौँ । त्यो पूर्ण सन्तोषजनक नभएपनि सन्तोषजनक छ ।’
उनले कलेजले निरन्तर रुपमा शिक्षाको गुणस्तरलाई अघि बढाउन खोजिरहेको बताए । उनले भने ‘हामीले टेक्स्ट बुकमा आधारित शिक्षाभन्दा पनि विद्यार्थीको चौतर्फी,बहुआयामिक व्यक्तित्व विकासमा जोड दिने लक्ष्य लिएका छौँ ।’
त्यस्तै, क्याम्पस प्रमुख गौतमले अहिलेको समसामयिक परिवेशमा कसरी प्रविधिमैत्री भएर जाने भन्ने कुरालाई आत्मसाथ गरेर क्याम्पस अगाडि बढिरहेको बताए । उनले क्याम्पसमा काबिल र योग्य प्राध्यापकबाट अध्यापन भइरहेको बताए । साभार निशान न्युज