खेमराज भट्ट, साउन २४, काठमाडौं
नेपालको आकाशमा बिहानको सुनौलो घाम फैलिँदै थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा एउटा विमान बिस्तारै रोकियो। विमानको ढोका खुल्यो— र त्यहाँ देखिइन्, अनुहारमा शान्ति, आँखा भित्र भक्ति, हृदयमा जगतको माया बोकेकी देवी प्रतिभा। पहिलो पाइला राख्दै उनले टाउको निहुराइन्, हात जोडिन्, र भावुक स्वरमा भने—”जय नेपाल आमा”।
यो हजारौं वर्षको सांस्कृतिक नाता, विश्वास र भक्ति एकै क्षणमा उच्चारित भएको मन्त्र जस्तै थियो। त्यो क्षणमा, उपस्थित भक्तजनका अनुहारमा उज्यालो झल्कियो, कोही चुपचाप आँसु पुछ्दै थिए, कोही मौन प्रार्थनामा डुबिरहेका थिए।
आजैदेखि उनी पशुपतिनाथको पवित्र परिसरमा जारी विराट महायज्ञमा कथा बाचन थाल्दैछिन्। उनको कथा भनेको शब्द मात्र होइन— आत्मालाई छुने स्वर, हृदयमा रोपिने संस्कार, र अन्तर्मनमा जाग्ने श्रद्धाको झरना हो। यो महायज्ञलाई उनले आशीर्वादका शब्द र धर्मको अमृतले अभिषेक गर्नेछिन् भन्ने विश्वास भक्तजनको छ।
भारतको एक साधारण परिवारमा जन्मिए पनि उनको जीवन साधारण कहिल्यै रहेन। बाल्यकालमै पुराण, वेद, भागवतका अक्षरहरूले उनको आत्मा छोए। धर्मको बाटोमा हिँड्दै, समयसँगै उनी भारत मात्र नभई अमेरिका, युरोप, अष्ट्रेलिया र मध्यपूर्वसम्मका हजारौं मण्डपहरूमा कथा सुनाउने आध्यात्मिक दीप बनिन्।
“धर्म, संस्कृति र हृदयको सेतु” बन्ने उद्देश्यले नेपाल आइपुगेकी उनले यस यात्रा लाई केवल कथा बाचन मात्र नभई प्रेम, श्रद्धा र संस्कारको अर्पण मानेकी छन्।