हेमा भट्ट, कञ्चनपुर – २८ साउन
कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले नेपालको सबैभन्दा प्रतिष्ठित गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ। नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा भू–संरक्षण विभाग, बबरमहल, काठमाडौँले देशभरका करिब ३० हजार सामुदायिक वनमध्ये उत्कृष्टको रूपमा छनोट गरी यो सम्मान प्रदान गरेको हो।
सुदूरपश्चिम प्रदेशबाट यस वर्ष यो पुरस्कार पाउने हरियाली सामुदायिक वन एक मात्र भएको छ। समूहका अध्यक्ष नित्य नन्द जेठाराजको अगुवाइमा संरक्षण, दिगो उपयोग, पारदर्शिता र सामूहिक सहभागितामा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको आधारमा यो सम्मान प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
स्थानीय बासिन्दाका अनुसार, २०५० को दशकमा उजाड अवस्थाबाट सुरु भएको संरक्षण अभियान केही वर्षमै हरियालीमा परिणत भयो। वृक्षारोपण, वन्यजन्तु संरक्षण, दाउरा–घाँसको दिगो उपयोग र सामुदायिक पूर्वाधार विकासजस्ता गतिविधिले यस वनलाई राष्ट्रिय स्तरमा चिनाएको हो।
पुरस्कार प्राप्तीले समूहका पदाधिकारी, सल्लाहकार, सदस्य, वन कर्मचारी र संरक्षणकर्मीको मनोबल उच्च भएको अध्यक्ष जेठाराजले बताए। उनले भने, “यो सम्मान केवल हाम्रो वनको मात्र होइन, सुदूरपश्चिम प्रदेशकै गौरव हो।”
हरियाली सामुदायिक वन कृष्णपुर नगरपालिका–५, कञ्चनपुर स्थापना : २०५० को दशक उजाड जमिनलाई हरियालीमा रूपान्तरण वृक्षारोपण, वन्यजन्तु संरक्षण, सामुदायिक पूर्वाधार निर्माण गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार (२०८२) सुदूरपश्चिमबाट पुरस्कार पाउने एक मात्र सामुदायिक वन ।