हेमा भट्ट
कञ्चनपुर, २६ साउन — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारी संरक्षण गर्ने उद्देश्यले गठन भएको बताएका छन्। सोमबार महेन्द्रनगरमा प्रेस सेन्टर नेपाल, कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा गृह र परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले अघिल्लो प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि कदम चाल्दा त्यसको प्रतिवादमा एमाले–कांग्रेस गठबन्धन सरकार बनेको बताए।
श्रेष्ठले भने, “हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले जनताका लागि विकास र सुशासन दिन खोज्दा सरकार नै ढालियो। यो वर्तमान सरकार भ्रष्टाचार, छलछाम र कपटको पर्यायवाची हो। यो सरकार जति लामो समय रहन्छ, देशमा यथास्थिति नै रहन्छ।”
उनले देशको यथास्थितिलाई तोडफोड गरेर नयाँ राह अपनाउन सबै वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकतालाई औंल्याए। श्रेष्ठले नेकपा विप्लव, समाजवादी पार्टी, जसपा लगायतका दलहरूबीच ‘वाम–समाजवादी मोर्चा’ पुनःस्थापना गर्नका लागि छलफल भइरहेकामा जानकारी दिए। उनले भने, “हामीलाई संविधानको रक्षा गर्नुपर्छ र देशलाई प्रतिगमनको खतरा हटाउन सामाजिक र आर्थिक रूपान्तरण आवश्यक छ। यसका लागि सुशासनको विकल्प छैन।”
प्रेस सम्मेलनपछि कञ्चनपुर पुगेका श्रेष्ठले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह स्थलको समेत अनुगमन गरेका छन्। उनले यस परियोजनालाई माओवादी सरकारकै परिकल्पना भएको तर पार्टी नेतृत्व नहुँदा विकास योजनाहरू ओझेलमा परेको बताए। पश्चिम नेपालबाट समग्र देशको दीगो विकासका लागि यस्ता परियोजना महत्वपूर्ण रहेको भन्दै उनले यसलाई तीव्रता दिनुपर्ने जोड दिएका छन्।
श्रेष्ठले धनगढी विमानस्थलदेखि हुलाकी राजमार्ग, बेलौरी र बेलडाँडी हुँदै महेन्द्रनगरसम्म स्थानीय नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गरिरहेका छन्। उनले स्थानीय समस्याहरू बुझ्दै पार्टी एकतालाई सुदृढ पार्ने र आगामी चुनावको तयारी गर्ने कार्यतालिका रहेको जानकारी दिए। मंगलबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यालयबाट भीमदत्त नगर पार्टी सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
उनले एमाले–कांग्रेस नेतृत्वको वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न नसकेको, भ्रष्टाचार र असहिष्णुतालाई बढावा दिएको र देशको समृद्धि तथा विकासमा बाधक भएको ठहर गर्दै यस स्थितिको अन्त्य गर्न बामपन्थी एकताको विकल्प नभएको तर्क गरे। उनले भने, “देशको भलोका लागि सबै प्रगतिशील, जनमूखि र समाजवादी शक्तिहरू एक हुनुपर्छ। राजनीतिक स्थिरता र समावेशी विकासका लागि साझा सङ्घर्ष आवश्यक छ।