सुरक्षा र प्रशासनको लापरवाहीले गरायो ठूलो मानवीय क्षति — कैलाली कारागारमा दर्दनाक घटना

कैलाली, २६ श्रावण २०८२ — जिल्ला कारागार कैलालीमा २०८२ साल श्रावण २३ गते शुक्रबार राति कैदीबन्दीहरूबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। यस घटनाप्रति मानवअधिकार संरक्षण मंच नेपाल सुदूरपश्चिम प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।

मानवअधिकार संरक्षण मंच नेपालका प्रदेश अध्यक्ष डिल्लीराज जोशीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको स्थलगत निरीक्षणको क्रममा घाइतेहरू र उनीहरूको परिवारबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार उक्त घटना सुरक्षा र प्रशासनको चरम लापरवाहीका कारण भएको ठहर गरिएको छ।

विज्ञप्तिमा भनिएको छ कि, “कैदीबन्दीहरूको मानवीय संवेदनशीलता तथा भौतिक एवं नैतिक सुधारका व्यवस्थालाई गम्भीरतापूर्वक नलिनु, प्रशासनको ठूलो लापरवाही हो जसले उक्त दुर्भाग्यपूर्ण घटना निम्त्याएको छ।” मानवअधिकार संरक्षण मंचले मृत्यु भएका व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको अवस्था सम्बन्धी आफन्तलाई जानकारी गराउन र उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ। साथै, मानवअधिकारकर्मी, नागरिक समाज र पीडित पक्षको समेत सहभागिता रहने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने पनि माग गरिएको छ।

प्रेस विज्ञप्तिमा भनिएको छ कि कारागारमा क्षमता भन्दा अत्याधिक कैदीबन्दीहरू राखिएकोले यस्ता घटनाहरू दोहोरिन सक्ने भएकाले, आधुनिक भौतिक संरचना निर्माण गर्नुपर्ने, मानव व्यवस्थापनमा सुधार गर्दै उत्पादनमूलक तथा व्यवहार परिवर्तन परामर्श कक्षाहरू सञ्चालन गरी कैदीबन्दीहरूको मानवअधिकार संरक्षण र सम्बर्द्धन गर्न आवश्यक छ।

मानवअधिकार संरक्षण मंच नेपालले कारागार व्यवस्थापन सुधार र कैदीबन्दीहरूको अधिकारको संरक्षणमा सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply