हेमा भट्ट
भदौ ५ धनगढी
कृष्णपुर – तीज भनेको महिलाको मात्र पर्व होइन, यो महिला–शक्ति, आस्था, संस्कार र सभ्यतालाई जोड्ने महत्वपूर्ण दिवस हो। यही दिवसलाई अझ अर्थपूर्ण बनाउन बिहीबार कृष्णपुर नगरपालिका–६ सिंहपुर पिकनिक स्पोर्ट्समा भएको एक विशेष कार्यक्रम महिलाको मनमा आशा, उत्साह र प्रेरणा भर्ने खालको रह्यो।
कार्यक्रमको नेतृत्व गरेका थिए नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर–२ का कोषाध्यक्ष तथा लोकप्रिय युवा नेतृ प्रेणा पाण्डे र कृष्णपुर नगरपालिकाकी उपप्रमुख तथा प्रदेश प्रतिनिधि द्रौपती राना। यी दुई नेतृहरूले आफ्नै खर्चमा ३५ जना महिलालाई खानपिनका सामग्री, फलफूल, डोरी, बिन्दी, माला लगायत वितरण गर्दै तीजलाई सभ्य र भब्य तरिकाले मनाउने सन्देश दिए।
“हामी महिलाले सभ्यतासँगै जिम्मेवारीपूर्वक तीज मनाउनुपर्छ। कहिलेकाहीँ फजुल खर्च गर्ने चलन देखिन्छ, तर त्यो उचित होइन। महिलाको असल प्रतिनिधित्व समाजलाई उज्यालोतर्फ लैजान सक्छ,” नेतृ पाण्डेले भनिन्।
यो कुरा मात्र भाषण थिएन, उनको व्यवहार र कर्मले प्रमाणित गर्यो। किनभने उनले आफ्नो व्यक्तिगत साधन–स्रोत खर्चेर कार्यक्रम गरेकी थिइन्, कुनै स्वार्थ वा प्रचारका लागि होइन, बरु महिलाबीच माया, सद्भाव र एकताको भावना जगाउने उदेश्यले।
कार्यक्रममा सहभागी महिलाहरूले आफ्नो अनुभव बाँड्दै भने – “हामीलाई यति माया, स्नेह र आदर दिएकोमा हर्ष लाग्यो। तीज केवल रमाइलो मात्र होइन, यो हाम्रो पहिचान, हाम्रो जिम्मेवारी र हाम्रो संस्कारलाई जीवन्त राख्ने अवसर हो।”
नेतृ प्रेणा पाण्डे सधैंजसो सहि सोच, उच्च विचार र संवेदनशील दृष्टिकोणले सबैको मन जित्ने नेतृका रूपमा चिनिन्छिन्। स्थानीयले उनीलाई भोलिको राजनीति र जिम्मेवार नेतृत्वका लागि दक्ष र योग्य महिला नेतृको रूपमा हेरेका छन्।
त्यस्तै उपप्रमुख द्रौपती राना पनि महिलाको आवाज बुलन्द गर्न, सामाजिक न्याय र स्थानीय विकासमा सक्रिय नेतृका रूपमा स्थापित भएकी छन्। दुबै नेतृले मिलेर प्रस्तुत गरेको यो उदाहरणीय कार्यक्रमले देखायो – महिला मात्र घरको होइन, समाज र राष्ट्रको भविष्य निर्माण गर्ने असल अभियन्ता हुन्।
तीजलाई यसरी सभ्य, भब्य र जिम्मेवार ढंगले मनाउने परम्परा अन्य ठाउँमा पनि अनुकरणीय बन्नसक्छ। किनभने पर्वको वास्तविक शक्ति भनेकै मिलेर एकअर्कालाई समर्थन गर्नु, हौसला दिनु र सही बाटोमा अघि बढाउनु हो।
आज सिंहपुरमा देखिएको त्यो एकता, सद्भाव र प्रेरणा केवल ३५ महिलाको मात्र कथा होइन; यो सम्पूर्ण महिलाको क्षमता, आँट र साहसको कथा हो।