बैतडीमा बालकको मृत्यु प्रकरण : काँग्रेस डिलाशैनीले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग

बैतडी – डिलाशैनी गाउँपालिका–३ गिरिबगडका १४ वर्षीय किरन कोलीको विद्युतीय करेन्ट लागी भएको दुःखद निधनपछि नेपाली कांग्रेस डिलाशैनी गाउँपालिका कार्यसमिति आक्रोशित बनेको छ।

शुक्रबार पार्टीले जारी गरेको विज्ञप्तिमा स्व. कोलीको असामयिक मृत्यु घटनाले पार्टीलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै मृतक आत्माप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।

काँग्रेसको आरोपअनुसार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालको प्रत्यक्ष संरक्षणमा वामेनिया नदीबाट वर्षायामकै बेला स्काभेटर प्रयोग गरी गैरकानुनी रूपमा बालुवा उत्खनन हुँदै आएको थियो। सोही उत्खननका कारण विद्युत् लाइन मुनि बालुवा थुप्रिएको र त्यसकै प्रभावले करेन्ट प्रवाहमा अवरोध भई किरन कोलीको ज्यान गएको विज्ञप्तिमा जनाइएको छ।

घटनापछि रातारात बालुवा हटाउने, प्रमाण नष्ट गर्ने मात्र नभई पीडित परिवारलाई पाँच–सात लाख रुपैयाँ दिने प्रलोभन देखाई दबाब दिने प्रयास भएको तथ्य पनि सार्वजनिक भइसकेको काँग्रेसले जनाएको छ। यसलाई पार्टीले न्याय प्रणालीमाथि खेलवाड गर्ने र दोषीलाई जोगाउने खतरनाक प्रवृत्तिको परिचायकका रूपमा चित्रण गरेको छ।

“न्यायकाे हत्या गर्ने प्रयास हामीले किमार्थ सहन सक्दैनौँ,” विज्ञप्तिमा भनिएको छ, “तत्काल स्वतन्त्र, निष्पक्ष र छिटो छरितो रूपमा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्नुपर्छ।”

साथै काँग्रेस डिलाशैनी गाउँपालिका कार्यसमितिले पीडित परिवारलाई न्याय दिलाउन सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। भविष्यमा यस्ता अवैध, अमानवीय र गैरकानुनी क्रियाकलाप दोहोरिन नदिने वातावरण बनाउन पनि सरकार गम्भीर बन्नुपर्ने चेतावनी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply