कैलाली, भदौ ६, स्वस्थ सदस्य, समृद्ध समाज” भन्ने नारालाई जीवन्त बनाउन आशा लघुवित्त वित्तीय संस्था लिमिटेड, अनुगमन कार्यालय अत्तरियाले एक महत्वपूर्ण पहल गरेको छ। धनगढीस्थित नोभा अस्पताल र निर्सग हस्पिटल एण्ड रिसर्च सेन्टरसँग शुक्रबार सम्पन्न सम्झौतापछि अब लघुवित्तका हजारौं सदस्य र उनीहरूका परिवारलाई उपचार सेवामा विशेष छुट उपलब्ध हुने भएको छ।
यस सम्झौतामा अनुगमन अधिकृत खुमबहादुर खड्का, नोभा अस्पतालकी प्रमुख अधिकृत गिता खत्री र निर्सग अस्पतालका अध्यक्ष तिर्थराज पन्तले हस्ताक्षर गरेका थिए। सम्झौता अन्तर्गत सदस्य, कर्मचारी र उनका परिवारले अस्पतालमा पुगेपछि विभिन्न उपचार सेवामा ५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।
नोभा अस्पतालमा १३ वटा शीर्षकमा ५–२० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ भने निर्सग अस्पतालमा पनि ५–१५ प्रतिशतसम्म छुट दिने सहमति भएको छ। छुट पाउने सेवामा औषधि, बेड चार्ज, इनभेस्टिगेशन, अपरेशन, इन्डोस्कोपी, सिटी स्क्यान, इको, टीएमटी, इसिजी, ओपरेशन थिएटर (ओटी), र डेन्टल सेवा जस्ता दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित उपचार समावेश छन्।
यो सम्झौता एक वर्षका लागि लागू हुनेछ। सदस्यहरूले सेवा लिन जाँदा आफ्नो लघुवित्तको पासबुक साथमा लैजानुपर्नेछ।
सम्झौता हस्ताक्षरपछि अनुगमन अधिकृत खुमबहादुर खड्काले भने, “आर्थिक रुपमा कमजोर वर्गका मानिसलाई उपचारमा केही सहुलियत मिलोस् भन्ने उद्देश्यले हामीले यो पहल गरेका हौं। आशा लघुवित्तसँग आबद्ध सदस्य मात्र नभई उनका परिवारलाई पनि यो सम्झौताबाट प्रत्यक्ष राहत पुग्नेछ।”
उनले थपे, “लघुवित्तसँग हाल सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र अछाममा कार्यालय सञ्चालन भइरहेको छ र करिब १० हजार ६ सय सदस्य आबद्ध छन्। सदस्यहरूको क्षमतावृद्धि र जीवनस्तर सुधारका लागि हामी समय–समयमा तालिम, जागरण कार्यक्रम र यस्तै सहुलियतपूर्ण सहकार्य गर्दै आएका छौं।
त्यस्तै, धनगढी शाखा प्रबन्धक भोजराज भट्टले यस सम्झौताले लघुवित्त क्षेत्रको सामाजिक उत्तरदायित्वलाई अझ प्रष्ट पारेको बताए। उनका शब्दमा, “ग्राहकलाई मात्र होइन, फिल्डस्तरमा काम गर्ने कर्मचारीहरूलाई पनि यसले हौसला दिनेछ। अरू लघुवित्त संस्थाभन्दा फरक र प्रभावकारी सेवाको परिकल्पना गरेरै हामीले यो सहकार्य अघि बढाएका हौं।”
भट्टले अहिले सहकारीसँग जोडिएर लघुवित्त बदनाम हुन थालेको प्रसंग पनि स्मरण गरे। उनले भने, “लघुवित्त र सहकारी संस्था फरक प्रकृतिका हुन्। राष्ट्र बैंकले लघुवित्त संस्थाको प्रत्यक्ष निगरानी गर्ने भएकाले सदस्यहरूले निर्धक्क भएर सेवा लिन सक्छन्।
सुदूरपश्चिमका ग्रामीण भेगमा स्वास्थ्य सेवा अझै महँगो र टाढाको मानिन्छ। विशेष गरी आर्थिक रुपमा कमजोर वर्गले उपचार खर्चको कारण जीवन गुमाउनुपर्ने अवस्थासम्म आइपर्ने गरेका छन्। यस्तो परिस्थितिमा लघुवित्तले गरेका यस्ता सम्झौताहरू सदस्यका लागि मात्र होइन, समग्र समाजकै लागि राहतको विषय बन्ने विश्वास गरिएको छ।
नोभा र निर्सग जस्ता आधुनिक स्वास्थ्य संरचना भएको अस्पतालसँगको सहकार्यले अब सदस्यहरूले उपचारमा आत्मविश्वासका साथ जान सक्नेछन्। सुदूरपश्चिमको सामाजिक–आर्थिक जीवनस्तर सुधारमा यो पहल ऐतिहासिक कदमका रूपमा हेरिएको छ।
आशा लघुवित्त विगत २०७३ सालमा स्थापना भई ग्राहक सदस्यहरूको सेवा गर्दै आएको हो। यस संस्थाले सदस्यहरूलाई व्यवसायमुखी बनाउन कर्जा मात्र होइन, विभिन्न सिपमूलक तालिम सञ्चालन गरेर व्यवसायिक योजना बनाउन सहज वातावरण बनाउँदै आएको छ।
यसबारे जानकारी दिँदै शाखा प्रबन्धक भोजराज भट्टले भने, “ग्राहकलाई सेवा नै हाम्रो सन्तुष्टि हो। त्यसैले हामीले हरेक सदस्यलाई आत्मनिर्भर र व्यवसायमुखी बनाउन निरन्तर सहकार्य र तालिमको व्यवस्था गर्दै आएका छौं।”