कृष्णपुर–९ को वनदेवी सामुदायिक वनमा महिलाको हाँसो, गीत र नृत्यले सजियो तीज उत्सव

सरस्वती सुनार, भाद्र ७,
कृष्णपुर – हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर श्री वनदेवी सामुदायिक वन उपभोक्ता समूह, कृष्णपुर नगरपालिका–९, राजघाटले विशेष तीज मिलन कार्यक्रम आयोजना गर्‍यो। कृष्णपुर नगरपालिका वडा नं. ९ कार्यालयको आयोजना र वनदेवी सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम महिलामाझ उल्लास र उमङ्गको माहोलसँगै सम्पन्न भएको हो।

कार्यक्रम सभाअध्यक्ष कार्यपालिका सदस्य कालिका चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख द्रौपती राना, वडा अध्यक्ष कैलाश बलायर, वनदेवी सामुदायिक वन अध्यक्ष निरज भण्डारी, वडा सदस्य सलिता विक, अतिथि प्रेणा पाण्डे, तथा जानकी सामुदायिक वन अध्यक्ष चन्द्र प्रकाश भट्टलगायतको विशेष उपस्थिति थियो।

स्वागत मन्तव्य सामुदायिक वनका अध्यक्ष निरज भण्डारीले गरेका थिए भने, कार्यक्रमको सञ्चालन शिक्षिका सम्झना साउदले गरिन्। प्रमुख अतिथि नगर उपप्रमुख रानाले महिलाको पर्व तीजलाई केवल नाचगान र मनोरञ्जनको रूपमा मात्र नभई महिला–शक्ति, संस्कार र सामाजिक एकताको प्रतीकका रूपमा लिनुपर्ने बताइन्।

त्यस्तै वडा अध्यक्ष बलायरले तीजलाई महिला सशक्तीकरण र सामाजिक सद्भावको पर्वका रूपमा चित्रण गर्दै सबैलाई धन्यवाद ज्ञापन गरे। अतिथि प्रेणा पाण्डेले तीज महिलाको मनका पीडा, आशा र खुशीलाई एकैसाथ अभिव्यक्त गर्ने अवसर भएको उल्लेख गर्दै महिलाहरूको सामूहिक एकताको आवश्यकता औंल्याइन्।

कार्यक्रममा सहभागी महिलाहरू परम्परागत रातो–हरियो भेषभूषामा सजिएर सामुदायिक वनको प्राङ्गणलाई रंगीन बनाइरहेका थिए। दर खाँदै, गीत–संगीतमा रमाउँदै उनीहरूको अनुहारमा छुट्टै उत्साह झल्कन्थ्यो।

वडा–९ निवासी तारा सुनार भन्छिन्, “हाम्रो तीज भनेकै दिदीबहिनी भेला हुने, मनका कुरा साट्ने र दुःख–सुख बाँड्ने अवसर हो। आज त सबैजना देख्दा घरझैँ लाग्यो।”

कृष्णा साउदले आफ्ना भाव व्यक्त गर्दै भनिन्, सधैं घरकाममै व्यस्त हुने हाम्रो दैनिकीमा यस्तो मिलन कार्यक्रमले साच्चिकै नयाँ उमङ्ग ल्याइदिन्छ। आज त खुबै रमाइलो भयो।”

फुलकुमारी चौधरीले भनिन् तीज केवल गीत–नृत्य मात्र होइन, हामी महिलाले आफ्नो शक्ति र एकतालाई देखाउने अवसर पनि हो। यस्तो कार्यक्रमले आत्मबल बढाउँछ।”

कार्यक्रममा साना बालिकादेखि वृद्ध महिलासम्म सबै उमेरका सहभागी थिए। सामूहिक नाचगानमा सबैजना जोडिएपछि वातावरण नै हर्षोल्लासमय भएको थियो।

आज त खुबै नाच्न पाइयो, मनै रमायो- भन्ने महिलाहरूका भावनाले कार्यक्रमको सार झल्काएको थियो। वनदेवी सामुदायिक वनको प्राङ्गणमा सम्पन्न तीज मिलन समारोहले महिलामाझ मात्र नभई समुदायमै एकताको सन्देश फैलाएको अनुभव गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply