कञ्चनपुर – बाबु–आमाप्रतिको कृतज्ञता र आशीर्वादको भाव बोकेर कुशे औंसी (बाबुको मुख हेर्ने दिन) को अवसरमा नेपाल प्रहरीकी वरिष्ठ हवल्दार पार्वती महराले ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेकी छन्।
कृष्णपुर नगरपालिका–९ निवासी महरा शनिबार धनगढी उपमहानगरपालिका राधाकृष्ण (कृष्ण) मन्दिर रहेको बुद्ध आश्रम पुगिन्। त्यहाँ आश्रय लिएका बुवा–आमालाई उनले आफ्नै हातले दोसल्ला ओढाइन्, फलफूल खुवाइन् र आत्मीयतापूर्वक भेटघाट गरिन्।
हवल्दार महराले भनिन्,
“मेरो आफ्नै बाबु अहिले स्वस्थ हुनुहुन्छ। उहाँको दीर्घायु र स्वास्थ्यको कामना गर्दै आज म बुद्ध आश्रमका आमा–बुबासँग भेट्न आएकी हुँ। बाबु–आमाको मायाको काख र आशीर्वाद कस्तो हुन्छ भन्ने कुरा यहाँ बस्दा अझ गहिरो महसुस हुन्छ।”
ज्येष्ठ नागरिकहरुले महराको कार्यलाई भावुक मनले स्वागत गर्दै, “हामीलाई सम्झिएर भेट्न आउनु नै ठूलो कुरा हो, आमा–बुवाको आशीर्वाद सदैव साथ रहनेछ,” भने।
समाजमा आमा–बुबाप्रतिको माया र सम्मानलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको यस कार्यले स्थानीय समुदायमा सकारात्मक संदेश प्रवाह गरेको छ। स्थानीयवासीहरुले समेत महराले देखाएको सामाजिक उत्तरदायित्व र भावनात्मक समर्पणलाई प्रशंसा गरेका छन्।
कुशे औंसी नेपाली समाजमा बुबा–आमाप्रतिको श्रद्धा, माया र कृतज्ञता व्यक्त गर्ने विशेष दिनका रूपमा मनाइन्छ। यही दिनमा आफ्ना बाबुको स्वास्थ्य र दीर्घायुको कामना गर्दै अरु ज्येष्ठ नागरिकलाई सम्झनु समाजलाई प्रेरणादायी बनाउने कार्य भएको सहभागीहरुले जनाएका छन्।