हेमा भट्ट , भाद्र ८
धनगढी, कैलाली – आतिथ्य प्रशिक्षण संस्थानको संघ (AHTI) ले होटल म्यानेजमेन्ट तालिममा उत्पन्न भएको भ्रमबारे स्पष्टता दिँदै प्रेस विज्ञप्ति जारी गरेको छ।
AHTI का अनुसार, CTEVT (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्) बाट सम्बन्धन प्राप्त सदस्य संस्थाहरुले साउन २६ गते गरिएको सम्झौताअनुसार नियमित तालिम सञ्चालन गर्दै आएको बताइएको छ। संघले भनेको छ, “हामीलाई तालिम सञ्चालनमा कुनै अवरोध छैन र कार्यक्रम पूर्ण रूपमा वैधानिक छ।
AHTI का अनुसार, सदस्य संस्थाहरुले प्रदान गरेका तालिमबाट उत्पादन भएका प्रशिक्षार्थीहरु विश्व बजारमा उच्च मागमा छन्। विशेषगरी एसईईमा असफल भएका विद्यार्थीहरुलाई भविष्य निर्माण गर्न सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
“हाम्रो तालिममार्फत प्रशिक्षार्थीहरुले स्टार होटल तथा रिसोर्टमा राम्रो तलबमा रोजगारी पाएका छन्। अझ बढी जनशक्तिलाई रोजगारी दिलाउन हाम्रो तयारी छ,” संघले जनाएको छ।
धनगढीका केही सञ्चारमाध्यममा “छापा परेको” समाचार प्रकाशित भएपछि संघले आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “AHTI का सदस्य संस्थामा गरिएको काम नियमित अनुगमन हो, छापा होइन। यस्ता समाचारले प्रतिष्ठामा असर पु¥याएको छ र विद्यार्थी भर्नामा नकारात्मक प्रभाव परेको छ। मिडिया कर्मीहरुलाई भ्रम चिर्न सहयोगको अपील गर्दछौं।
AHTI ले ETVA, मलेसिया जस्ता अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्य अन्तर्गत तालिम प्रदान गर्दै आएको भए पनि CTEVT सम्बन्धन प्राप्त भएपछि छोटा अवधिका तालिममा मात्रै प्रशिक्षण दिइरहेको जनाएको छ। संघले भनेको छ, “अन्य प्रदेशमा ETVA को तालिम सञ्चालन भइरहेको अवस्थामा हामीमाथि मात्र रोक लगाउनु सौतेलो व्यवहार जस्तो देखिन्छ। यसले विद्यार्थी र संस्थाको वित्तीय अवस्था प्रभावित भएको छ।”
अन्त्यमा, AHTI का अध्यक्ष कमल पनेरु र सचिव गणेश शाही ले सम्बन्धित निकायसँग समग्र नियम समान रूपमा लागू गर्न आग्रह गरेका छन्।