तीजको गीत–संगीतबीच आत्मनिर्भरता घोषणाको स्वर, जानकी सामुदायिक वनमा ब्युटिसियन तालिम समापन

हेमा भट्ट , भाद्र ८
कञ्चनपुर, भदौ –सीप सिकेर आत्मनिर्भर बनौँ, आत्मनिर्भर भएर समाजमा योगदान गरौँ” भन्ने मूल उद्देश्यका साथ जानकी सामुदायिक वन उपभोक्ता समितिले सञ्चालन गरेको ३० दिने निःशुल्क ब्युटिसियन तालिम शुक्रबार एक भावनात्मक समापन समारोहका साथ सम्पन्न भएको छ। तालिमको अन्तिम दिनलाई विशेष बनाउन यसलाई तीज पर्वसँगै जोडेर सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो।

कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष चन्द्र प्रकाश भट्टले गर्नुभयो। उहाँले समापन सम्बोधन गर्दै भन्नुभयो, “सामुदायिक वन केवल रुख–बोट संरक्षणको संस्था मात्र होइन, यसले स्थानीयको जीवनस्तर उकास्ने पुल हो। आज यो तालिममार्फत आम महिलालाई स्वरोजगार र आत्मनिर्भर बन्न प्रेरित गर्न पाउनु हाम्रो गर्वको विषय हो।

कार्यक्रमकी प्रमुख अतिथि कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती रानाले महिलालाई लक्षित गरी सञ्चालन भएका यस्ता सीपमूलक तालिमले घरपरिवार मात्र होइन, समाजकै आर्थिक आधार बलियो बनाउने बताइन्। उहाँको भनाइ थियो,
“सामाजिक रूपान्तरण तब सम्भव हुन्छ जब महिलाले आफ्नै खुट्टामा उभिन सक्छन्। ब्युटिसियन तालिमले महिलालाई स्वरोजगारको बाटो देखाएको छ। नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर साथ दिनेछ।”

पिपरिया सबडिभिजन कार्यालयका प्रमुखले तालिमलाई उदाहरणीय भन्दै यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए। उहाँले भन्नुभयो,
“सीप भनेको व्यक्तिको जीवनमा अमूल्य सम्पत्ति हो। आज यहाँका बहिनीहरूले पाएको ज्ञानलाई व्यवसायिक रूपमा प्रयोग गरे भने यसले उनीहरूलाई मात्र होइन, स्थानीय अर्थतन्त्रलाई पनि समृद्ध बनाउनेछ।”

तालिम सञ्चालन गरेका प्रशिक्षकहरूले महिलाको उत्साह, लगनशीलता र सहभागिताले आफूहरूलाई गर्व लागेको बताए। सहभागी महिलाहरूले पनि तालिमले आफ्नो आत्मविश्वास बढाएको, नयाँ अवसरको ढोका खोलेको र भविष्यमा स्वरोजगारको बाटो देखाएको भावनात्मक अनुभव सुनाए।

कार्यक्रमलाई तीज पर्वसँग जोडेर आयोजना गरिएको थियो। सहभागी महिलाले हरितालिका तीजको अवसरमा परम्परागत गीत–संगीत, नृत्य र सांस्कृतिक प्रस्तुति गर्दै कार्यक्रममा रौनक थपे। उपस्थित बुद्धिजीवी, समाजसेवी तथा स्थानीयहरूले महिलाको सक्रियता देखेर ताली बजाइरहेका थिए। वातावरण एकै साथ सीप, संस्कृति र एकताको प्रतीक बनेको थियो।

समारोहमा गौरादेवी सामुदायिक वनका अध्यक्ष, उग्रतारा सामुदायिक वनका अध्यक्ष, स्थानीय समाजसेवी, बुद्धिजीवी, महिला नेतृहरू तथा पत्रकारहरूको समेत उल्लेखनीय उपस्थिति थियो। सबै वक्ताहरूले सामुदायिक वन संस्थाले देखाएको सामाजिक उत्तरदायित्वप्रति आभार प्रकट गर्दै भविष्यमा अझ धेरै यस्ता कार्यक्रम गर्न सुझाव दिए।

३० दिनको तालिम, सहभागीहरूको हाँसो–उत्साह र तीजको उल्लासले कार्यक्रमलाई अविस्मरणीय बनाएको थियो। तालिम सम्पन्न भए पनि सहभागी महिलाको आत्मविश्वास र भविष्यमा आत्मनिर्भर बन्ने संकल्प भने अझ प्रज्वलित बनेको देखियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply