धनगढी, भदौ ८ – हरितालिका तीजको अवसरमा शिखर काफली सेवा समाज नेपालले गोदावरी नगरपालिका–२, तेघरीमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्दै शिखर क्षेत्रका चार चेलीलाई सम्मान गरेको छ।
सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा विशेष योगदान पु¥याएका चारैजना चेलीहरूलाई प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशका निवर्तमान राज्यमन्त्री टेकबहादुर रैकामार्फत सम्मान गरिएको हो।
सहकारी तथा महिला सशक्तीकरणमा योगदानका लागि डा. रुपा जोशी (प्रमुख, सुदूरपश्चिम बहुउद्देश्य सहकारी संस्था लि.)
शैक्षिक क्षेत्रमा योगदानका लागि डा. तुल्सी कुमारी शर्मा (उपप्राध्यापक, ऐश्वर्य बहुमुखी क्याम्पस)
स्वास्थ्य सेवामा योगदानका लागि डा. दिपा जोशी (ईएनटी विशेषज्ञ, गेटा अस्पताल)
स्वास्थ्य सेवामा योगदानका लागि डा. चाँदनी जोशी (मेडिकल अफिसर, सेती प्रादेशिक अस्पताल)
कार्यक्रममा विशिष्ट अतिथि गोदावरी–२ का वडा अध्यक्ष यज्ञराज महरा, कृष्णपुर–९ का वडा अध्यक्ष कैलाश बलायर, शिक्षक संगठन प्रदेश सचिवालय सदस्य नरेन्द्रराज शर्मा, समाजका सल्लाहकार संयोजक विष्णुबहादुर महरा, विद्यालय प्रध्यानाध्यापक गजेन्द्र महरा, स्वास्थ्य चौकी प्रमुख पूर्णानन्द जोशी, महिला समूह अध्यक्ष हरिना महरा, सामुदायिक वन समिती अध्यक्ष कृष्णा महरा लगायतले तीजको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य उपसमिति संयोजक वीरबहादुर महराले राखेका थिए भने सञ्चालन समाजका सचिव राजेन्द्र रैकाले गरेका थिए। समाज नेपालका अध्यक्ष छत्रबहादुर महराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न महिला समूहले नृत्य, देउडा, सांस्कृतिक–साहित्यिक प्रस्तुति तथा दर खुवाउने कार्यक्रमसमेत गरेका थिए।
उक्त तीज विशेष कार्यक्रम गोदावरी–२ वडा कार्यालयको आर्थिक सहयोग, न्यू समैजी महिला आमा समूह तथा शिखर काफली सेवा समाज नेपाल तेघरी उपसमितीको संयोजनमा सम्पन्न भएको हो।