हेमा भट्ट, भदौ ९
कञ्चनपुर – सुदूरपश्चिमको मुटु, पुनर्वास नगरपालिका–११ को डाेकेबजार फेरि एकपटक उल्लास र उमंगले रंगिन लागेको छ। २२औं डाेकेबजार तीज महोत्सवको तयारी धमाधम भइरहेको छ। हजारौं दिदीबहिनीको हाँसो, गीत र नृत्यले गुञ्जिने यो महोत्सवलाई अहिलेसम्म स्थानीय सरकारले पर्याप्त महत्त्व नदिएको आयोजकको पीडा भने मन छुने खालको छ।
गौरीफण्टा नाका र नमुना शहर धनगढीको मुटुमा रहेको डाेकेबजार केवल व्यापारिक केन्द्र मात्र होइन, संस्कृति र भावनाको धरोहर पनि हो। यही कारणले त यहाँको तीजलाई ‘नमुना तीज’ भनेर चिनिन्छ। अध्यक्ष अजय भण्डारी आँखा रसाउँदै भन्छन् –
“हामीले अघिल्लो पटक दाताले दिएको सहयोग रकमबाट मन्दिर बनाएर संस्कृति जोगायौं। अब युवाले नेतृत्व लिएका छन्, सहज हुँदै गएको छ। तर, सरकारको नजर अझै पुग्न सकेको छैन। थोरै सहयोगले मात्र यो संस्कृति टिक्दैन, हामीलाई स्थायी संरचना चाहिन्छ।”
उनको स्वरमा गुनासो मात्र होइन, आशा पनि मिसिएको छ। “भुइँमा सोलिङ लगाएर कार्पेट ओछ्याइयो भने हाम्रो दिदीबहिनीहरू ढुक्कले नाच्न सक्नेछन्। डाेकेबजार अझ सुन्दर बन्छ। यो हाम्रो सपना हो, संस्कृतिको सम्मान हो।”
यस महोत्सवको तयारीमा कोषाध्यक्ष दिनेश सिंह, सचिव दिपु क्षेत्री, सल्लाहकार संयोजक नेकराज कनाेजी र स्थानीय युवाहरू दिनरात खटिरहेका छन्। उनीहरूको लक्ष्य केवल कार्यक्रम सम्पन्न गर्नु मात्र होइन, तीजलाई भव्य र सभ्य संस्कृतिको उदाहरण बनाउनु हो।
कार्यक्रम स्थल यसपटक विशेष बनाउन लागिएको छ। सुरक्षादेखि व्यवस्थापनसम्म महिला मात्र प्रवेश गर्ने व्यवस्था गरिएको छ। स्वयंसेवक टोली खटाइनेछ। प्रत्येक दिदीबहिनी सुरक्षित महसुस गर्दै, नाच्दै–गाउँदै, आफ्नो संस्कृतिलाई आत्मसात गर्न सकून् भन्ने चाहना आयोजकको छ।
भण्डारीको शब्द फेरि भावुक बनेर पोखिन्छ –
“डाेकेबजार तीज केवल गाउने–नाच्ने पर्व होइन, यो हाम्रो आमा–दिदीबहिनीको श्रद्धा हो, भोलिका पुस्तालाई दिने संस्कृतिको उपहार हो। सबैलाई आग्रह गर्छु – आउनुहोस्, डाेकेबजारमा भेटौँ, संस्कृतिलाई सँगै जोगाऔँ।”
यसरी, डाेकेबजार फेरि एकपटक तीजको रंगमा रन्गिन तयारीमा छ। तर, अझै पनि प्रश्न खुला नै छ – “कहिले पुग्ने हो स्थानीय सरकारको आँखा यो नमुना संस्कृतिको आँगनमा?