हेमा भट्ट, भाद्र १०
धनगढी (कैलाली) – हरितालिका तीज महानपर्वको अवसरमा धनगढी उपमहानगरपालिका–३ मोहनापुल नजिकै स्थित शिव मन्दिर परिसरमा पहिलोपटक भव्य तीज समारोह सम्पन्न भएको छ। श्री शीतल टोल विकास समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रमले स्थानीय समुदायमा उत्साह, आस्था र एकताको नयाँ ऊर्जा प्रवाह गरेको छ।
समारोहको अध्यक्षता रणबहादुर खड्काले गरेका थिए भने प्रदेशसभा सदस्य निर्वाचित माननीय रमेश धामी (डायमण्ड) प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै, धनगढी–३ का वडा अध्यक्ष राजबहादुर ऐर, पूर्व वडा अध्यक्ष बलबहादुर ऐर, विभिन्न संघसंस्थाका पदाधिकारी र स्थानीय सामाजिक अभियन्ताहरू विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
समारोहको उद्घाटन प्रमुख अतिथिद्वारा ब्यानर र रिबन काटी तथा जेष्ठ महिलाले धुप प्रज्वलन गरी गरिएको थियो।
समाजसेवी निता शाहीले स्वागत मन्तव्य दिँदै भनिन् – “हामीले समाज नबनाए कस्ले बनाउने? सबैको साथ र सहयोगले हाम्रो टोललाई नमुना बनाउन सक्छौँ भन्ने विश्वास राखेकी छु।
प्रमुख अतिथि रमेश धामी (डायमण्ड) ले सम्बोधन गर्दै भने– “हामी सधैं सचेत रहनुपर्छ, नेतृत्वलाई घचघच्याउनुपर्छ। यसले मात्र अनिवार्य रूपमा नेतृत्वको ध्यानाकर्षण हुन्छ। आजको तीज प्राङ्गण अर्को वर्ष फरक रुपले देखिनेछ, ढुक्क रहनुहोस्।”
त्यसैगरी वडा अध्यक्ष राजबहादुर ऐरले लामो सम्बोधन गर्दै भने–
“यो हाम्रो मात्र जिम्मेवारी होइन, सम्पूर्ण समुदायको साझा जिम्मेवारी हो। टोल, वडा र नगरलाई परिवर्तन गर्न स्थानीय बासिन्दा सक्रिय हुनुपर्छ। मन्दिर हाम्रो आस्था र संस्कृतिको केन्द्र हो। यसलाई संरक्षण, विस्तार र व्यवस्थापन गर्नु हामी सबैको कर्तव्य हो।
तीज जस्तो महानपर्वले सम्पूर्ण समाजलाई एकताबद्ध बनाउने अवसर दिएको छ। हामीले परम्परा जोगाउँदै आधुनिकतासँग सन्तुलन मिलाउनुपर्छ। हाम्रो टोललाई नमुना बनाउन सहयोग गर्नुहोस्, किनभने टोलको प्रगति भनेको वडाको प्रगति हो, वडाको प्रगति भनेको नगरको गौरव हो।
म वडा अध्यक्ष मात्र होइन, तपाईँहरूको सेवक पनि हुँ। यो तीजलाई टोलको मात्र नभई वडाभरि मनाइने सामूहिक पर्व बनाउन सबै दिदीबहिनी, दाजुभाइ र आमाबुबाहरूलाई हार्दिक आह्वान गर्दछु।”
संस्कार र मनोरञ्जन- समारोह सञ्चालिका रमा उपाध्यायले तीज संस्कारबारे स्मरण गर्दै भनिन्–“पहिलेको तीज मादल र भाकामा रमाउने पर्व थियो भने अहिले डिजे संस्कृतिले ठाउँ लिएको छ। तर कतिपय ठाउँमा अराजकता देखिन्छ, हामीले असल नारीको पहिचान जोगाउनुपर्छ।”
दिदीबहिनीहरूले परम्परागत भाका र आधुनिक गीतमा छमछमी नाच्दै वातावरणलाई उल्लासमय बनाएका थिए। सजिएर आएका सहभागी दिदीबहिनीहरूको उपस्थितिले सम्पूर्ण परिसर आस्थामय र रंगिन बनेको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष रणबहादुर खड्काले भने–
“यो केवल हाम्रो टोलको तीज होइन, यो वडा–३ को गौरवको तीज हो। सबै दिदीबहिनी एकताबद्ध भएर यो परम्परालाई अझ भव्य बनाउनुपर्छ।”
प्राकृतिक सौन्दर्य र भविष्यको योजना- कार्यक्रम स्थल शिव मन्दिर मोहनापुल नजिकै मोहना नदीको किनारमा अवस्थित छ। यहाँको चिसो हावापानी, कलकल बग्ने नदी र पुल हुँदै आवतजावत गर्नेको रमाइलो दृश्यले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।
स्थानीयले भने – “सानो ठाउँ भए पनि यो ठाउँको सौन्दर्य, मन्दिरको धार्मिक महत्व र यहाँको सामुदायिक एकतालाई देख्दा निकै गर्व लाग्छ।”
आयोजक समितिका अनुसार यही प्राङ्गणमा निकट भविष्यमा गाैरा पर्व पनि भव्य र सभ्य रूपमा आयोजना गरिने तयारी भइरहेको छ। यसले धार्मिक, सांस्कृतिक र सामुदायिक गतिविधिलाई थप बल पुग्ने विश्वास व्यक्त गरिएको छ।