हेमा भट्ट, भाद्र १२
धनगढी, कैलाली – संघीय शिक्षा ऐन २०८० अन्तर्गत निजी विद्यालय बन्द गर्ने प्रस्तावित प्रावधानविरुद्ध निजी विद्यालय संचालकहरूले भद्र १२ गते जिल्ला प्रशासन कार्यालय, धनगढीको गेट अगाडि कोणसभा आयोजना गरेका छन्।
कोणसभामा APEN, नेशनल प्याब्सन, हिमाल, अपन, एनएमएलगायत निजी विद्यालय संस्थाहरूले संयुक्तरूपमा सहभागिता जनाएका थिए। कार्यक्रमको क्रममा प्रमुख जिल्ला अधिकारी कैलालीलाई ज्ञापनपत्र पनि बुझाइएको छ।
ज्ञापनपत्रमा निजी विद्यालय सञ्चालकहरूले संघीय शिक्षा ऐनका केही प्रावधानले शिक्षा क्षेत्रमा नकारात्मक असर पुर्याउन सक्ने गम्भीर ध्यानाकर्षण गराएका छन्। यदि समयमै संशोधन नभएमा निजी विद्यालयहरूले आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ।
संशोधनका मुख्य मागहरूमा पूर्ण छात्रवृत्तिको प्रावधानमा सुधार, हाल कायम विद्यार्थी संख्याको १०% छात्रवृत्ति दिने व्यवस्था कायम राख्ने, गैरनाफामूलक प्रावधान हटाउने, र छात्रवृत्ति वितरण प्रणालीमा पालिका प्रतिनिधि समेतको समितिले विद्यालयमार्फत वितरण गर्न सक्ने व्यवस्था समावेश छन्।
कोणसभाको अध्यक्ष युवराज शर्मा, कार्यबाहक अध्यक्ष सुवाष न्यौपाने, कृष्णप्रसाद अधिकारीले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका हुन्।