जनउत्थान लघुवित्तले लालझाडीमा विद्यार्थी साक्षरता कार्यक्रम सम्पन्न

हेमा भट्ट, भाद्र १२, कञ्चनपुर
लालझाडी —जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.शाखा सन्चालन अधिकृत सुरक्षा कार्यालय लालझाडीको आयोजनामा “विद्यार्थी साक्षरता कार्यक्रम” एकदिने विशेष कार्यक्रमका रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम लालझाडी गाउँपालिका–०२ स्थित भानु उच्च माध्यमिक विद्यालयमा भद्र १२ गते आयोजना गरिएको हो।

कार्यक्रमको निर्देशन शाखा संचालन अधिकृत नरेश कुमार वोहराले गर्नुभएको थियो भने सहजीकरण इलाका संचालन अधिकृत मधु कुवरले गर्नुभएको थियो। विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत करिब ३० जना विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रममा उत्साहजनक माहोल सिर्जना भएको थियो।

आयोजक संस्थाका अनुसार विद्यार्थी साक्षरता कार्यक्रमको मुख्य उद्देश्य वित्तीय संस्थाको भूमिका र महत्वबारे विद्यार्थीलाई जानकारी दिनु, विद्यालय तहमै असल कारोवार गर्ने बानीको विकास गराउनु, बचतको संस्कारलाई प्रोत्साहन गर्नु र विद्यार्थीमार्फत समाजमा वित्तीय सचेतना फैलाउनु हो। ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गर्नुले भविष्यमा उनीहरूलाई जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

शाखा संचालन अधिकृत वोहराले सम्बोधन गर्दै “बचत भविष्यको आधार हो, जिम्मेवार कारोवार नै जीवनको सफलताको जग हो” भन्दै विद्यार्थीहरूलाई सचेत र अनुशासित जीवनशैली अपनाउन आह्वान गर्नुभयो। उहाँले आर्थिक व्यवस्थापनमा सचेत रहनु प्रत्येक व्यक्तिको दायित्व भएको उल्लेख गर्दै विद्यार्थी जीवनमै असल बानी बसाल्न सके भविष्य उज्ज्वल हुने धारणा राख्नुभयो।

त्यस्तै, सहजीकरण गर्दै इलाका संचालन अधिकृत कुवरले वित्तीय संस्था र सहकारीबीचको भिन्नता, ऋण लिँदा ध्यान दिनुपर्ने सावधानी, समयमै किस्ता तिर्ने बानी, असल ग्राहक बन्नका लागि आवश्यक व्यवहार आदिबारे विस्तृत जानकारी दिनुभयो। उहाँले विद्यार्थीलाई वित्तीय सचेतनाले मात्र व्यक्तिगत जीवन नभई सम्पूर्ण समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यार्थीहरूले सक्रिय रूपमा प्रश्नोत्तर सत्रमा भाग लिँदै बैंकिङ्ग प्रणाली, लघुवित्त सेवा, ऋण प्रक्रियाबारे विभिन्न जिज्ञासा राखेका थिए। सहभागीहरूले प्राप्त ज्ञानले आफूसँगै परिवार र स्थानीय समाजलाई पनि वित्तीय दृष्टिले सचेत बनाउन महत्वपूर्ण सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए।

ग्रामीण क्षेत्रका विद्यालयमै पुगेर गरिएको यो कार्यक्रम विद्यार्थीहरूलाई वित्तीय ज्ञान प्रदान गर्ने र बचत तथा जिम्मेवार कारोवारतर्फ आकर्षित गर्ने एउटा महत्वपूर्ण पहल भएको आयोजक संस्थाले जनाएको छ। यसले विद्यार्थी जीवनमै सही वित्तीय अभ्यास गर्ने संस्कार बसाल्ने विश्वास लिएको संस्थाले निकट भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply