भाद्र १२
कृष्णपुर नगरपालिका–९ जोरायल टोलका समाजसेवी हर्कबहादुर शाहीको घर आँगन ३६ वर्षदेखि निरन्तर तीज उत्सवको केन्द्र बन्दै आएको छ। स्थानीय दिदीबहिनीको सहभागितामा हुने यस नृत्य उत्सव अब जोरायल टोलको सामाजिक–सांस्कृतिक पहिचानकै रूपमा स्थापित भएको छ।
सन् २०४३ सालदेखि निरन्तर आयोजना हुँदै आएको यस कार्यक्रमलाई शाहीले आफ्नै लगानीमा सुरु गरेका थिए। प्रत्येक वर्ष तीज आउँदा आँगनमा सजाइएको मञ्चमा दिदीबहिनीहरू सिँगारपटारका साथ नाचगानमा रमाउँछन्। रंगीन लुगा, परम्परागत गहना र उल्लासमय वातावरणबीच नृत्य गर्दा उनीहरूलाई अनुपम आनन्द प्राप्त हुने उनीहरूले बताएका छन्।
शाहीले कार्यक्रमलाई व्यवस्थित बनाउन आफ्नै खर्चमा ध्वनि प्रणाली, बाजागाजा र नाच्ने ठाउँसम्म तयार गरेका छन्। “दिदीबहिनीलाई खुसी देख्दा मलाई सन्तोष मिल्छ, यिनैको उमंगले यो परम्परा निरन्तरता पाएको हो,” शाही भन्छन्।
यसरी निरन्तर परम्परा जोगाइरहे पनि स्थानीय तह वा सम्बन्धित सरकारी निकायले अझैसम्म कुनै ध्यान नदिएको दिदीबहिनीहरूको गुनासो छ। “३६ वर्ष भयो, तर अहिलेसम्म नगरपालिका वा कुनै सरकारी निकायले कार्यक्रमप्रति चासो देखाएको छैन,” एक स्थानीय महिलाले भनिन्।
शाहीको आँगनमा आयोजना हुने यो तीज नृत्य अब केवल एक घरको मात्र नभई सम्पूर्ण टोलकै सामूहिक उत्सवजस्तो बनेको छ। हरेक वर्ष सयौँको संख्यामा दिदीबहिनीहरू नाचगानमा सहभागी हुन्छन् भने वरिपरिका पुरुष, बालबालिका र अन्य स्थानीय बासिन्दा दर्शकका रूपमा रमाइलोमा सहभागी हुन्छन्।
स्थानीय सामाजिक–सांस्कृतिक विद्वान्हरूका अनुसार यस्तो निरन्तर परम्पराले समुदायमा आपसी एकता र सहकार्यको भावना प्रगाढ बनाएको छ। साथै, यसले परम्परागत तीज संस्कृतिलाई संरक्षण गर्ने काम गरेको छ।
यता, कार्यक्रमको ३६ वर्षे इतिहास हेर्दा पनि स्थानीय सरकारले यसलाई संरक्षण र प्रवर्द्धन गर्न कदम नचालेको विषय खेदजनक भएको बताउँदै सरोकारवालाहरूले अब यसलाई नगरकै गौरवशाली परम्परा बनाएर पर्यटन प्रबर्द्धनमा उपयोग गर्न सकिने सुझाव दिएका छन् ।