कञ्चनपुर, १६ भदौँ — निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि २१ भदौँ ०८२ मा हुन लागेको निर्वाचनमा पुष्पराज अवस्थी नेतृत्वको प्यानल घोषणा गरिएको छ। संघको १५ औँ कार्य समिति चयनका लागि सोमबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा अवस्थी नेतृत्वमा प्यानल सार्वजनिक गरिएको हो।
प्यानल अनुसार अध्यक्ष पदका उम्मेदवार पुष्पराज अवस्थी हुनुहुन्छ भने बरिष्ठ उपाध्यक्ष अमर बहादुर बम, उपाध्यक्ष यज्ञराज बैज, महासचिव देवीदत्त भट्ट, सचिव गोरेसिह ऐर र सहकोषाध्यक्ष चित्र कार्की रहेका छन्।
प्यानल घोषणा गर्दै अध्यक्षका उम्मेदवार अवस्थीले संघभित्र साना व्यवसायीहरुको समावेशीकरण गर्दै निर्माण व्यवसायीहरुको साझा समस्या पहिचान गरी समाधानतर्फ पहल गर्ने उद्देश्यले नेतृत्वमा आउन इच्छुक भएको बताए। उनले भने, “पहिले अध्यक्षमा पराजित भएपनि त्यस अनुभवबाट धेरै ज्ञान आर्जन गरेको छु। अब आम व्यवसायीहरुको हकहितमा काम गर्नकै लागि नेतृत्वमा जान चाहन्छु।”
अवस्थीले संघमा हाल साढे तीन सय नजिक व्यवसायी आबद्ध नभएकाले, आफ्नो नेतृत्वमा समिति चयन भएमा उनीहरुलाई पनि समावेश गरिने बताए। साथै, संघको क्षमता अभिवृद्धि गर्दै प्रविधिमैत्री बनाउने, साझा भुक्तानी समस्या समाधान गर्ने, नेतृत्व दोहोरिने प्रवृत्तिलाई अन्त्य गर्ने, र संघलाई सबै व्यवसायीको साझा संस्था बनाउने एजेन्डा अघि सारिएको उल्लेख गरे।
महासचिवका उम्मेदवार देवीदत्त भट्टले साना व्यवसायी र संघ बाहिर रहेका व्यवसायीलाई संघमा आबद्ध गराएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले यसअघि कार्य समितिले साना र नयाँ व्यवसायीलाई समावेश गर्न नसकेको भन्दै, अवस्थी नेतृत्वको समितिले यसलाई पूर्णता दिने बताए।
अवस्थी प्यानललाई अधिकांश साना व्यवसायीहरुको समर्थन प्राप्त भएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेश सिह रावलले अवस्थी प्यानल समावेशी र व्यवसायिक हकहितका लागि रहेको भन्दै सहयोगको अपिल गरेका छन्।
अवस्थीले आफ्नो भनाइमा जोड दिए, “हाम्रो प्यानल विशुद्ध व्यवसायीहरुको प्यानल हो। हामी कुनै दलसँग आबद्ध छैनौँ। सबै दल र समूहसंग समान व्यवहार गर्दै राज्यले दिएको काम गुणस्तरीय र समयमै सम्पन्न गर्ने हाम्रो दायित्व हुनेछ।”
निर्माण व्यवसायी संघ कञ्चनपुर आगामी निर्वाचनमा नयाँ कार्यसमितिको चयनपछि जिल्लामा दीगो विकास र व्यवसायिक समावेशीकरणका दिशामा महत्वपूर्ण कदम चाल्ने अपेक्षा गरिएको छ।