केशव थापा, भदौ १७
कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर कार्की यतिबेला जिल्ला सदरमुकाम महेन्द्रनगरमा व्यस्त छन्। आउँदो शनिबार (भदौ २१) हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औँ कार्य समिति निर्वाचनमा उनी सह–कोषाध्यक्ष पदका उम्मेदवार बनेका छन्।
कार्की पुष्पराज अवस्थी नेतृत्वको प्यानलबाट चुनावी मैदानमा उत्रिएका हुन्। जिल्लाकै चार पालिका रहेको दक्षिणी क्षेत्रको भूगोलबाट संघको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने उनी एक्ला उम्मेदवार हुन्। यसअघि १४औँ कार्य समिति निर्वाचनमा सदस्य पद जितिसकेका उनले यसपटक पदाधिकारी तहमा आफ्नो ‘अपराजित यात्रा’ कायम गर्ने दाबी गरेका छन्।
डेढ दशकदेखि निर्माण व्यवसायमा सक्रिय कार्की केदार निर्माण सेवा प्रालि का सञ्चालक हुन्। स्थानीय तहदेखि जिल्ला बाहिरसम्मका ठूला–साना परियोजनामा काम गर्दै आएका उनले सरकारी तथा सार्वजनिक निकायबाट पाएका काम समयमै गुणस्तरीय रुपमा सम्पन्न गरेको अनुभव बोकेका छन्।
संघमा सह–कोषाध्यक्षका उम्मेदवार बनेका कार्कीले साना निर्माण व्यवसायीले खेप्दै आएका समस्या समाधान, भुक्तानी प्रक्रियामा हुने ढिलासुस्ती हटाउने तथा सबै व्यवसायीलाई मर्यादित र भयरहित वातावरणमा काम गर्न सक्ने आधार तयार गर्ने एजेण्डा प्रस्तुत गरेका छन्।
संघमा धेरै साथी व्यवसायीहरू अझै पनि आबद्ध हुन बाँकी छन्। उनीहरूलाई जोड्दै संस्थागत विकास, स्वच्छ, निष्पक्ष र पारदर्शी नेतृत्व दिनु मेरो संकल्प हो,” कार्कीले भने, “यदि व्यवसायीहरूले अहिले विश्वास गरे, भविष्यमा उनीहरूको हकहितमा इमान्दारपूर्वक काम गर्ने प्रतिज्ञा गर्दछु।