सरस्वती सुनार
कञ्चनपुर, कृष्णपुर – कृष्णपुर नगरपालिका–९, राजघाटको रमणीय वातावरण चार दिनसम्म सांस्कृतिक रौनकले भरियो, जहाँ गौरा पर्व विशेष देउडा कार्यक्रम–२०८२ भदौ १५ देखि १८ गतेसम्म निरन्तर चलेको थियो।
यस वर्षको महोत्सवले सुदूरपश्चिमेली सांस्कृतिक झल्को मात्र होइन, स्थानीय समुदायको सक्रिय सहभागिताको उत्सव पनि प्रस्तुत गर्यो। कार्यक्रममा सक्रिय योगदान दिएका कलाकार, समाजसेवी र अन्य विशिष्ट व्यक्तित्वहरूलाई वनदेवी सामुदायिक वन उपभोक्ता समूहले कदर–पत्रद्वारा सम्मान गरेको थियो। विशेष रूपमा मिडिया ‘रैकवार खबर दैनिक’ का संचालक पदम सुनार लगायतका व्यक्तित्वलाई सम्मान प्रदान गरिएको थियो।
कार्यक्रम समैजी समूह र वनदेवी सामुदायिक वन उपभोक्ता समितिको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। आयोजक र संयोजक दिनेश ओझा तथा अध्यक्ष निरज भण्डारीले संयुक्त रूपमा कदर–पत्र हस्तान्तरण गर्दै सम्मानितहरूलाई प्रोत्साहित गरे।
चार दिनसम्म चलेको देउडा महोत्सवमा “कला संस्कृति हाम्रो पहिचान, संरक्षण हाम्रो अभियान” भन्ने नारासहित हजारौं स्थानीयवासीले उत्साहपूर्वक सहभागिता जनाए।
समापन दिनको मुख्य आकर्षण बनेका थिए चर्चित कलाकार टीका साउद र नरेश जोशी बीचको देउडा प्रस्तुति। स्थानीय कलाकारहरूले पनि निरन्तर प्रस्तुति दिँदै आफ्नो कला–प्रतिभा प्रस्तुत गरे, जसले समग्र कार्यक्रमलाई झनै रङ्गीन र जीवन्त बनायो।
युवा समाजसेवी दिनेश ओझा भाबुक भाव व्यक्त गर्दै भन्छन्, “गौरा हाम्रो संस्कृति र गौरवको प्रतीक हो। यसलाई संरक्षण र प्रवर्द्धन गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो।”
कार्यक्रमका मुख्य अतिथि वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारीले भने, “देउडा गायन र नृत्यले हाम्रो समुदाय मात्र होइन, सम्पूर्ण नेपाली समाजलाई सांस्कृतिक रूपमा एकताबद्ध बनाउने शक्ति बोकेको छ। संस्कृतिलाई बचाउनु भनेको हाम्रो अस्तित्वलाई बचाउनु हो।”
समापन अवसरमा समैजी समाजले विभिन्न क्षेत्रका कलाकार, संस्कृतिकर्मी र विशेष अतिथिलाई कदर–पत्रसहित सम्मान गर्दै कार्यक्रमलाई भावपूर्ण अन्त्य प्रदान गर्यो। आयोजकहरूको अनुसार, यो महोत्सवले सुदूरपश्चिमेली संस्कृति र परम्पराको सुन्दर झलक प्रस्तुत गर्दै सहभागीहरूको मनमा अमिट छाप छोडेको छ।
https://www.facebook.com/share/v/1CCAvzYhV9/