अमर गोकुल सामुदायिक वन उपभोक्ता समूहको १८औं वार्षिकोत्सव : संघर्ष, योगदान र भविष्यको आशा

हेमा भट्ट, भाद्र २०, कञ्चनपुर।
पुनर्वास नगरपालिका–११ का बासिन्दा १८ वर्षदेखि एक साझा सपना बोकेर अघि बढिरहेका छन्—हरियो वनको संरक्षण र समृद्ध भविष्यको निर्माण। संसारमा सम्पत्ति प्रायः धन–दौलत, जग्गा–जमिन वा भवनमा मापन हुन्छ, तर यहाँका उपभोक्ताहरूले आफ्नो सबैभन्दा ठूलो सम्पत्ति हरियो वनलाई मानेका छन्। यही मूल्यवान धरोहरलाई जोगाउन, हुर्काउन र भावी पुस्तामा हस्तान्तरण गर्न उनीहरूले आ–आफ्नो पसिना, आँसु र श्रम खर्च गरेका छन्। यही योगदानलाई कदर गर्ने उद्देश्यले अमर गोकुल सामुदायिक वन उपभोक्ता समूहले यस भदौ २७ गते आफ्नो १८औं वार्षिकोत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ।

यो सामुदायिक वनको यात्रा सहज थिएन। कहिले डढेलोको आगो निभाउन खेत, घर छाडेर वनतर्फ दौडनुपर्ने अवस्था आयो। कहिले अवैध वन दोहन गर्नेहरूसँग प्रत्यक्ष संघर्ष गर्नुपर्‍यो। कहिले समुदायमा वातावरण संरक्षणका बारेमा चेतना जगाउन सभा–सभा, प्रशिक्षण र जनचेतनामूलक कार्यक्रम गर्नुपर्‍यो। तर यी सबै चुनौतीका बाबजुद उपभोक्ताहरू दृढ रहँदै आए।

समूहका अध्यक्ष मानबहादुर थापाले आँखा रसाउँदै भन्नुभयो – “यो वन केवल हरियो रुख–बोटको जमघट होइन, यहाँ हाम्रो भविष्य बस्छ। बन्यजन्तुको बासस्थान जोगाउन, डढेलो निभाउन, अवैध कटानी रोक्न उपभोक्ताले रातदिन गरेको संघर्षको साक्षी यही वन हो।”

उपभोक्ताहरूको योगदान केवल संरक्षणमा मात्र सीमित भएन। विपन्न परिवारलाई दाउरा–काठ आवश्यक पर्दा आफ्नै आवश्यकता त्यागेर अरूलाई सहयोग गरेका घटनाहरू प्रशस्त छन्। समुदायले सामूहिक निर्णय गरेर विद्यालयमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्‍यो, सामाजिक अभियानमा जोड दियो, वातावरण संरक्षणका कार्यहरूलाई निरन्तरता दियो। यसरी वनको हरियालीले मात्र नभई सामाजिक एकता र सहकार्यलाई पनि मजबुत बनाएको छ।

एक महिला उपभोक्ताले भनिन् – “यो वन हाम्रो लागि केवल रुख होइन, हाम्रो जीवन हो। बिहान–साँझ सास फेर्ने हावा हो, चुलो बाल्ने दाउरा हो, हाम्रो बच्चाको भविष्य हो।”

समूहले गत १८ वर्षमा धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। वन्यजन्तुको बासस्थान जोगिनु, अनावश्यक कटानी नियन्त्रण हुनु, वृक्षारोपणमार्फत हरियाली विस्तार हुनु, स्थानीय विद्यालयमा विद्यार्थीलाई वातावरणसम्बन्धी चेतना फैलिनु यी सबै यसको सफलताका सूचक हुन्। साथै, वनबाट उपलब्ध स्रोत–साधनको सदुपयोग गरेर विपन्न परिवारले राहत पाएका छन्।

यो वन अब केवल वातावरणीय सन्तुलनकै आधार नभई पुस्तौँसम्म जीवनस्तर सुधार्ने आशाको प्रतीक बनेको छ।

समूहले १८औं वार्षिकोत्सवमा विविध कार्यक्रम गर्ने जनाएको छ। स्थानीय सांस्कृतिक प्रस्तुति, उपभोक्ताको अनुभव साझेदारी, सम्मान तथा पुरस्कार वितरण यस समारोहका प्रमुख आकर्षण हुनेछन्। विशेषगरी संस्थापक सदस्य, लामो समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका उपभोक्ता र संरक्षणमा सक्रिय हातहरूलाई सम्मान गरिनेछ। यसमार्फत नयाँ पुस्तालाई पनि वनप्रति समर्पण र जिम्मेवारीको सन्देश दिन चाहिएको छ।

अमर गोकुल सामुदायिक वन अब केवल आजको धरोहर मात्र होइन, भोलिको पुस्ताका लागि जीवनरेखा बन्ने विश्वास गरिएको छ। उपभोक्ताहरूको सामूहिक संकल्प, निरन्तर श्रम र त्यागकै कारण यो वन आज प्रेरणाको उदाहरण बनेको छ।

स्थानीयहरूले एक स्वरमा भनेका छन् – यो वन हाम्रो रगत, पसिना र आँसु मिसिएको सम्पत्ति हो। यसलाई जोगाउनु भनेको हाम्रो जीवन र भविष्यलाई जोगाउनु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply