हेमा भट्ट ,२८ भदौ
कञ्चनपुर – अत्यन्तै कठिन र पीडादायी अवस्थाको सामना गर्दै आएको कृष्णपुर नगरपालिकाले भोलि मिति २०८२ भदौ २९ गते आइतबारदेखि आफ्ना सबै वडा कार्यालयहरूबाट सेवा सञ्चालन गर्ने भएको छ । गत सातादेखि चलेको आन्दोलनका क्रममा नगरपालिका कार्यालयमा भएको आगलागी र तोडफोडका कारण भवन पूर्णरूपमा ध्वस्त भएको थियो । तर, विपत्तिको यो घडीमा स्थानीयलाई सेवाबाट बन्चित नगराउने अठोटसहित वडास्तरमै सेवा सुरु गर्ने निर्णय भएको हो ।
नगर प्रमुख हेमराज ओझाले शनिबार पत्रकारलाई जानकारी दिँदै भने,
“नगरपालिकाको मुख्य भवन जलेर खरानी भए पनि हामी जनतालाई सेवा दिनेतर्फ कुनै पनि हालतमा पछि हट्दैनौँ । केही वडामा आगलागी र क्षतिको कारण समस्याहरू छन्, तर ती पनि चाँडै समाधान हुनेछ ।”
ओझाले थपे, “यो नगरपालिका स्थानीयले विश्वास गरेर निर्माण गरेको हो, त्यसैले संकटमा पनि उनीहरूको भरोसा र आशा भत्किन दिनुहुन्न भन्ने हाम्रो दृढ संकल्प हो । नगरपालिका कार्यालय अस्थायी रूपमा स्थगित भए पनि छिट्टै वैकल्पिक व्यवस्थामार्फत सेवा निरन्तरता दिलाइनेछ।”
आन्दोलनपछिको असुरक्षित वातावरण, सरकारी संरचना ध्वस्त र प्रशासनिक अवरोधका कारण केही दिनदेखि सर्वसाधारण नागरिकता, सामाजिक सुरक्षा भत्ता, भवन नक्सा स्वीकृति, जन्म-मृत्यु दर्ता लगायतका सेवा पाउनबाट बन्चित भएका थिए । यसबीच धेरै वृद्धवृद्धा, विद्यार्थी र सर्वसाधारणलाई दैनिक जीवनमै असुविधा भोग्नु परेको स्थानीयले बताउँदै आएका छन् ।
नगर प्रमुखले गरेको आश्वासनपछि स्थानीयवासीमा केही आशाको किरण पलाएको छ । वडा कार्यालयहरूबाट सेवा सुरु हुने जानकारी पाएपछि, स्थानीय शिक्षक शंकर पन्तले भने, “नगरपालिकाको भवन जलेर खरानी भए पनि जनताको मन र विश्वास जलेको छैन । सेवा वडाबाट पाउने थाहा पाएपछि अब सहज हुन्छ भन्ने आशा छ ।”
त्यस्तै, महिला अगुवा लक्ष्मी चौधरीले भनिन्, “हामीलाई सेवा नपाउने हो कि भन्ने चिन्ता थियो । तर, वडा कार्यालयमै सेवा सुरु हुने सुन्दा मन हर्षित भएको छ । नगरपालिका जनताको हो, आगोले भवन जलाउन सक्छ तर भावना र विश्वास जलाउन सक्दैन ।”
नगरपालिकाको भवन पुनर्निर्माणका लागि आवश्यक बजेट र स्रोत खोज्ने प्रक्रियामा सरकार सक्रिय रहेको पनि ओझाले बताए । उनले संघीय र प्रदेश सरकारसँग निरन्तर सम्पर्क भइरहेको र “कृष्णपुरलाई निराश हुन नदिने” प्रतिवद्धता व्यक्त गरे ।
यसरी, ध्वस्त भएको भवन र खरानी भएको कागजपात्रका बीचबाटै पनि कृष्णपुर नगरपालिका उठ्ने प्रयासमा छ । स्थानीयवासीले आफूलाई छिट्टै सेवा उपलब्ध हुने आशामा समर्थन र धैर्य देखाइरहेका छन् ।